बुटवल - नेपाल टेलिकमले तिलोत्तमा नगरपालिकाका सबै वडा कार्यालय तथा स्वास्थ्य चौकी गरी ३८ स्थानमा फाइबर टु द होम (FTTH) सेवा जडान गरेको छ।
नेपाल टेलिकमको Government to Government (G2G) Programme अन्तर्गत गत २०८२ माघ महिनामा तिलोत्तमा नगरपालिकाको सभाहलमा आयोजित सेमिनारमार्फत नेपाल टेलिकम र नगरपालिकाबीच सम्झौता भएपछि उक्त सेवा विस्तारको काम सुरु गरिएको हो।
सम्झौताअनुसार २०८२ माघ महिनादेखि नै तिलोत्तमा नगरपालिकाको मुख्य प्रशासनिक भवनमा १ Gbps क्षमताको FTTH सेवा जडान गरी सञ्चालनमा ल्याइएको थियो। त्यसपछि नगरपालिकाका वडा नं. ४, ६, १२, १३ र १४ मा नेटवर्क विस्तार (Network Expansion) तथा सेवा सञ्चालन (Service Deployment) गर्दै सेवा विस्तार गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका प्राविधिक अधिकृत निमप्रसाद न्यौपानेले जानकारी दिए।
उनका अनुसार २०८३ साउन १ गतेदेखि नगरपालिकाका सबै वडा कार्यालय र स्वास्थ्य चौकी गरी ३८ स्थानमा उच्चगतिको FTTH सेवा सञ्चालनमा आएको छ। यसले स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी, छरितो र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालयकी प्रशासनिक अधिकृत सीता सुवेदीले नेपाल टेलिकमले Government to Government (G2G) Programme, डिजिटल नेपाल अभियान तथा सरकारी निकायहरूको डिजिटल रूपान्तरणलाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय तह तथा अन्य सरकारी कार्यालयहरूमा FTTH सेवा विस्तार गर्दै आएको बताइन्। उच्चगतिको इन्टरनेट सेवाले स्थानीय सरकारबाट प्रवाह हुने डिजिटल सेवाको गुणस्तर वृद्धि हुनुका साथै नागरिकलाई छिटो, सहज र भरपर्दो सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने उनले बताइन्।

