बुटवल - लुम्बिनी प्रदेशमा एमालेभित्रै मुख्यमन्त्री चेतनारायाण आचार्यको विरोध हुनसक्ने भएकाले पहिले विश्वासको मत दिने तयारीमा जुटेका छन् । एमाले अध्यक्ष केपि शर्मा ओलीले मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने वचन दिएपछि आचार्य ढुक्क छन् । तर, केन्द्रीय कमिटिको निर्णय समेत नभएको र प्रदेशले नै निर्णय गर्नुपर्ने अडान राख्ने नेताहरुको बाहुल्यताका कारण आचार्यले आफूमाथि अविश्वास हुनसक्ने भएकाले अर्को तुरुप निकालेका हुन् ।
उनले आफू मुख्यमन्त्री बन्ने भएपछि मन्त्रीहरुको आकाक्षी धेरै भएको वाहनामा पहिले आफूले विश्वासको मत लिएर सरकार विस्तारको योजनामा जुटेका हुन् । यदि मन्त्री विस्तारमा सहमती नहुने भए मुख्यमन्त्री आचार्यले विश्वासको मतमै समस्या हुने भएकाले आचार्यले यसो गरेको एक मन्त्रीले बताए ।
विश्वासको मत प्रयोजनका लागि आगामी सोमबार वा मंगलबारका लागि प्रदेश सभाको बैैठक आह्वान गर्ने तयारी छ । कांग्रेसले गत साउन १२ गते समर्थन फिर्ता लिएसँगै संविधानअनुसार प्रदेश सभाबाट एक महिनाभित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।
सरकार बिस्तारमा ढिलाई हुनुको अर्को कारण सत्तारुढ दलकै सांसद मुलुक बाहिर भएकाले पनि हो । एमाले प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी चीन, नेकपाका दुई र जसपा नेपालका एक प्रदेश सभा सदस्य मुलुक बाहिर रहेका छन् ।
कुन दलले कुन मन्त्रालय पाउने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा सत्तारुढ दलबीच छलफल भइरहेको छ । मुख्यमन्त्री आचार्यले सत्ता साझेदार दलका नेताहरूसँग मन्त्रालयको जिम्मेवारी, सरकारको संरचना तथा मन्त्री छनोटका विषयमा अलग–अलग छलफल गरिरहेका छन् । नेकपा र एमालेभित्रै मन्त्रीका आकाक्षीहरुको लर्को नै छ ।
नयाँ सत्ता समीकरणमा नेकपा र जसपा नेपाललाई सहभागी गराई सरकारलाई पूर्णता दिने गरि तयार पूरा भएको छ । नेकपा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले पनि पहिले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने र त्यसपछि मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढ्ने सहमति भएको बताए ।
मन्त्रालय बाँडफाँडबारे दलहरूबीच छलफल जारी रहे पनि अन्तिम निर्णय भने विश्वासको मतपछि मात्रै हुने उनले बताए । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय कायम छन् । लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपाका १३, जसपा नेपालका ५, राप्रपाका ४, जनमत पार्टीका तीन, राष्ट्रिय जनमोर्चाका एक र एक स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।

