बुटवल - नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ डुबानको जोखिममा परेको छ । केही दिनदेखि निरन्तर नदी कटान भइरहेकाले स्थानीयमा त्रास बढेको छ ।
सुस्ताका स्थानीय अगुवा बाबु खाँका अनुसार नदीको कटानले स्थानीयले निर्माण गरेको अस्थायी बाँधसमेत भत्किएपछि खेतमा पानी पसेको छ । नदीको बहाव बढेमा बस्तीका घरमा समेत पानी पस्ने जोखिम रहेको उनले बताए ।
सुस्ता गाउँपालिका–५ को थारू टोल नारायणीको बाढीका कारण जलमग्न भएको छ । सुस्ता–५ का वडासदस्य एवं सुस्ता बचाउ अभियानका संयोजक आदम खाँले नदीको कटान रोक्न स्थानीयले बोराामा बालुवा भरेर नाइलनको डोरीले बाँधेर अस्थायी प्रयास गरिरहेको बताए ।
यसअघि जेठ २९ गते नारायणी नदीमा १३२ मिटर तटबन्ध निर्माण गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले रोक लगाएपछि स्थानीय र भारतीय सुरक्षाकर्मीबिच विवादसमेत भएको थियो । तटबन्ध निर्माणका लागि १ करोड ४० लाख रुपैयाँ विनियोजन भए पनि भारतीय पक्षले काममा अवरोध गरेपछि स्थानीयले अस्थायी तटबन्ध निर्माण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी नेपाल अहिले सुस्ताको स्थलगत अनुगमनमा छन् । उनले बाढी बस्तीमा पसेको अवस्थामा स्थानीयलाई कसरी सुरक्षित स्थानमा लैजाने र सुरक्षा व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।

