काठमाडौं । उपभोक्ताहरू एक महिनादेखि ग्यास नपाएर दैनिक कहिले बिक्रेता, कहिले उद्योग त कहिले सरकारले व्यवस्था मिलाएको ठाउँमा भौंतारिरहेका छन् ।
यसरी भौंतारिरहेका काठमाडौं उपत्यकाका उपभोक्ताका लागि शुक्रबार साँझ नेपाल आयल निगमले एउटा सूचना जारी गर्यो । जसमा काठमाडौंका थप ५ ठाउँबाट विभिन्न ब्रान्डका ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको सूचना उल्लेख थियो ।
सूचनाअनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री हुने थाहा पाएपछि सरकारले तोकेका ठाउँमा उपभोक्ता बिहान ८ बजेदेखि नै खाली सिलिन्डर बोकेर लाइन लाग्न पुगे ।
आज दिउँसो नै काठमाडौंका विभिन्न ठाउँमा पानी पर्नथाल्यो । तर, ग्यास अभाव झेलेका उपभोक्ता पानीमै भिजेर पनि लाइन लागिरहे ।
टेकुदेखि कीर्तिपुरसम्म, जडिबुटीदेखि बसुन्धरासम्मका स्थानमा सरकारले व्यवस्था मिलाएअनुसार पूरा सिलिन्डर ग्यास किन्न रित्ता सिलिन्डरको लामो लाइन थियो ।
सरकारकै उर्दीअनुसार नागरिक हातमा राष्ट्रिय परिचयपत्र र नागरिकता बोकेर एक थान ग्यासका पाउनका लागि दिनभरि पानीमा भिजेर लाइन लागे ।
त्यसरी टेकुस्थित नेपाल आयल निगमको वितरण केन्द्रमा लाइन लाग्नेमध्येका एक थिए, विश्व अधिकारी । उनले आफू ४५ वर्ष पुगेको सुनाउँदै आफ्नो जीवनमा ग्यास अभावका कारण यस्तो समस्या पहिलोपटक भोग्नुपरेको सुनाए । २०७२ सालको विनाशकारी भूकम्पका बेलासमेत यस्तो अवस्था भोग्नुनपरेको उनको भनाइ छ ।
यता आयल निगमले शनिबार दिनभरिमा तिनै केन्द्रहरूबाट कुल ६ हजार ८०२ वटा सिलिन्डर ग्यास बेचेको तथ्यांक सार्वजनिक गरेको छ ।
जसमध्ये निगमको टेकु परिसरबाट सबैभन्दा बढी २ हजार २९० वटा ग्यास वितरण भएको छ । यसैगरी पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६००, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२, यातायात कार्यालय परिसर चाबहिलबाट ७२० र बसुन्धराको राधास्वामी केन्द्रबाट ६०० सिलिन्डर बिक्री भएको छ ।
यी ५ केन्द्रबाट मात्रै ५ हजार ९७२ सिलिन्डर बिक्री हुँदा बालाजु काउन्टरबाट ५०० र साल्ट ट्रेडिङको जडिबुटी तथा कालीमाटी काउन्टरबाट ३३० गरी कुल ६ हजार ८०२ सिलिन्डर ग्यास उपभोक्ताको हातमा पुगेको निगमको तथ्यांक छ ।

