पाल्पा — रामपुर नगरपालिका–१० होस्दी गाउँका १९ घर पहिरोको उच्च जोखिममा परेका छन्। कालीगण्डकी करिडोरअन्तर्गत मगरे जाने सडक चौडा गरेपछि बिहीबार राति ठूलो पहिरो खसेको हो।
वडाध्यक्ष तोयानाथ सारुका अनुसार गत आर्थिक वर्षमा सडक पूर्वाधार कार्यालयमार्फत २० लाख रुपैयाँमा सडक चौडा गरिएको थियो। सडक चौडा गरेपछि पानी पर्नासाथ पहिरो खसेको उनले बताए।
पहिरोका कारण करिडोर केही समय अवरुद्ध भएको थियो भने सडकमा हिलो र गेग्रान थुप्रिएको छ। पहिरोले १ सय ५० भन्दा बढी रुख ढालेको छ भने स्थानीयको घरजग्गा र खेतीपातीसमेत जोखिममा परेको छ।
स्थानीयले सडक निर्माणअघि नै पहिरोको जोखिमबारे सचेत गराए पनि बेवास्ता गरिएको आरोप लगाएका छन्। प्राविधिक परीक्षणमा समेत जोखिम औंल्याइएको उनीहरूको भनाइ छ। जगैदेखि पहिरो खसेकाले सोही स्थानबाट सडक पुनः सञ्चालन गर्न कठिन हुने स्थानीयले बताएका छन्।

