Lumbini Rise
पत्रकार किशाेर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश (आदेश सहित)

बुटवल - जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई छोड्ने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासले भर्खरै परमादेश जारी गरेको हो । 

श्रेष्ठको पक्राउ गैरकानुनी भएको बताउँदै श्रीमती सरस्वतीले साउन २८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । साउन २९ गते न्यायाधीश ढकालको इजलासमा सुनुवाइ भएकोमा बरामद भएका उपकरणसहित श्रेष्ठलाई आज अदालत उपस्थित गराउने आदेश भएको थियो । 

श्रेष्ठको तर्फबाट आज १७ जना कानुन व्यवसायीले बहसमा भाग लिएका थिए । उजुरीकर्ता आफैंले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरबारे समाचार बनाउँदा कसरी वैयक्तिक गोपनीयता हनन भयो ? भनि उनीहरुले प्रश्न गरेका थिए । यता, न्यायाधीशले सरकारी वकिललाई पनि सोही प्रश्न सोधे । 

सुनुवाइपछि उनलाई छोड्ने आदेश दिइएको हो । जनआस्था अनलाइनले अघिल्लो साताको सोमबार एक माननीय र युवतीले चुम्बन गरिरहेको तस्बिरसहित समाचार प्रकाशित गरेको थियो । सो तस्बिर युवतीकै फेसबुकबाट सार्वजनिक भएकोमा उनले वैयक्तिक गोपनीयता हननको जाहेरी दिएकी हुन् । 

साउन २७ गते राति प्रहरीले श्रेष्ठलाई ललितपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । पक्राउपछि काठमाडौं प्रहरी परिसर लगिएका उनलाई साउन २९ गते प्रहरी वृत्त, महाराजगञ्ज सारिएको हो ।

हेर्नुहाेस आदेश 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update