Lumbini Rise
परियार सेवा समाज लुम्बिनीद्धारा  प्रथम अधिवेशन तथा तीज मिलन कार्यक्रम

बुटवल - परियार सेवा समाज लुम्बिनी प्रदेश समितिद्वारा आइतबार बुटवलमा  प्रथम अधिवेशन तथा तीज मिलन कार्यक्रम – २०८३  सम्पन्न गरेको छ । समाजका लुम्बिनी प्रदेश अध्यक्ष निर्मल सुनामको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष नारायण परिश्रमी परियारको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि परियारले यो समुदायले आफ्नो पेशा, व्यवसाय र कला संस्कृतिको संरक्षण गर्दै आएको बताउँदै अबको कार्यभार संगठित हुनुपर्नेमा जोड दिए ।

उनले केन्द्रीय समितिले प्रत्येक जिल्ला शाखाहरुमा भवन निर्माण, हाते मेसिन, सिलाई दररेट कार्यान्वयन, नौमती बाजालगायतका महपूर्ण योजनाहरु ल्याएको बताए । कार्यक्रममा समाजका केन्द्रीय उपमहासचिव सरोज गौतमले परियार समुदाय विभाजित नभई एकजुट हनुपर्ने बताए । उनले यो समुदायमा सीप र कलाको प्रतिभा भएको भन्दै राज्यका हरेक तहमा उपस्थित रहेको बताए ।

त्यस्तैगरी समाजका कोशी प्रदेश इन्चार्ज ओज कुमार सिवा, समाजका पूर्व केन्द्रीय उपाध्यक्ष खड्क बहादुर दर्नाल, लुम्बिनी कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष राजु बराहा, समाजका लुम्बिनी प्रदेश इन्चार्ज हरि नेपाली, समाजका अर्घाखाँची जिल्ला अध्यक्ष रमेश कुमार परियार लगायतले शुभकामना मन्तव्य राख्दै परियार समुदायको  एकजुट भएमा मात्रै उनीहरुको उत्थान र  विकास हुने बताए ।

कार्यक्रममा  ९८ बर्षिय ज्येष्ठ सदस्य लोक बहादुर रणपाल,  स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका  भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरीटेण्डेण्ट डा.नविन दर्नाल, अधिवक्ता जानकी बराहा, कलाकारहरु  संजय सौगात,  सम्झना रणपाल, परियार समाज रुपन्देहीका संस्थापक अध्यक्ष कृष्ण घलेलगायतलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा समाजका अध्यक्ष निर्मल सुनामले बोल्दै २१ औं शताब्दीमा पनि परियार समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताए । उनले कला र सीपका धनी परियार जातिलाई राज्यले चिन्न नसकेको बताउँदै उनीहरुको हकहितका लागि पनि समाजले अगुवाई गर्नुपर्ने बताए ।

समाजका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र दर्जीको स्वागत मन्तव्यमा  भएको कार्यकममा महासचिव तथा कार्यक्रम संयोजक सिमा परियारले गरेकी  थिइन ।

साथै प्रथम अधिवेशनले राजु बराहाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा मिना नेपाली, कोषाध्यक्षमा सुरेन्द्र कुमार रणपाल, महासचिवमा सिमा दर्जी चयन भएका छन् । त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा  दिल बहादुर परियार, रमेश कुमार परियार र पशुपति सुनाम सर्वसम्मतरुपमा चयन भएका छन् ।  

सोही अवसरमा तीज मिलन कार्यक्रम समेत सम्पन्न गरिएको छ । महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा समाजले  तीज मिलन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा लोक तथा दोहोरी गायक संजय सौगात, सम्झना रणपाल र कुसुम परियारले तीजका मौलिक  गीत प्रस्तुत गरी  उपस्थित महानुभावहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update