Lumbini Rise
भोटेकोशी बाढीपहिरो पीडितका लागि मिलिजुली टोल विकास संस्थाको ९३ हजार सहयोग

बुटवल- रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बुटवल उपमहानगरपालिका–१९, पश्चिम नहरपुरस्थित मिलिजुली टोल विकास संस्थाले ९३ हजार ६ सय २१ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मिलिजुली टोलमा बसोबास गर्ने व्यक्तिवाट रकम संकलन गरी उक्त सहयोग रकम ग्लोवल आइएमई बैकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले टोलवासीले स्वस्फूर्त रूपमा रकम संकलन गरेका हुन ।

विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु मानवीय तथा सामाजिक दायित्व भएको भन्दै टोलवासीले आफ्नो क्षमता अनुसार सहयोग गरेको टोल विकास संस्थाका अध्यक्ष ऋषिराम काफ्ले वताए ।

“विपद् कसैलाई भनेर आउँदैन । यस्तो अवस्थामा पीडितको उद्धार र राहतमा राज्यसँगै सबै क्षेत्रको सहयोग आवश्यक हुन्छ,” उनले भने, “हामीले सानो भए पनि आफ्नो तर्फबाट योगदान गरौँ भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेका हौँ ।”

टोल विकास संस्था सामाजिक तथा सामुदायिक गतिविधिमा समेत सक्रिय रहँदै आएको छ । संस्थाले टोलको सरसफाइ, वातावरण संरक्षण, सामाजिक सचेतना, विपद्मा परेका नागरिकलाई सहयोग, सार्वजनिक हितका काम तथा विभिन्न सामाजिक अभियानमा टोलवासीको सहभागिता जुटाउँदै आएको छ ।

समुदायमा आपसी सहयोग, सद्भाव र सहकार्यको भावना विकास गर्ने उद्देश्यले संस्थाले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको संस्था सचिव जगलाल नेपाली वताए ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update