Lumbini Rise
बुटवल बहुमुखीमा क्याम्पसमा  अनेरास्ववियुका नेताले विद्यार्थी भर्ना गर्न भन्दै पैसा उठाएकाे खुलासा

 

बुटवल -  बुटवल बहुमुखी क्याम्पसमा अध्यनरत नेकपा एमाले निकट  अनेरास्ववियुका नेताले विद्यार्थी भर्नाका नाम पैसा उठाएर ठगी गरेको खुलासा भएको छ । क्याम्पसले बैशाख १९ गते एक सूचना जारी गरी बिए चौथौ वर्षमा अध्ययनरत विद्यार्थी विवेक कुँवरले विद्यार्थीहरुसँग भर्नाका कागजात र शुल्क उठाएर फाराम नभरेको पाइएकाले कारवाही गरेको छ ।


‘यस क्याम्पसमा बिए चौथौ बर्षमा अध्ययनरत रोल्नं १२० का विद्यार्थी विवेक कुवरले विभिन्न नयाँ तथा पुराना विद्यार्थीहरुसंग भर्ना गरिदिने, परीक्षा फारम भरिदिने भनी निजहरुको कागजात र लाग्ने शुल्क वापतको रकम बुझि भर्नाका साथै फारम भरीदिने काम नगरेको भन्ने उजुरी प्रमाणित हुन आएकोले निज विद्यार्थीलाई क्याम्पसबाट निलम्बन गरी क्याम्पस प्रवेशमा रोक लगाईएको कुरा सूचित गरिन्छ’ क्याम्पस प्रमुख डा. अरुण कुमार क्षेत्रीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।


क्याम्पसले भर्ना गर्ने, परीक्षा फर्म भर्ने जस्ता कार्यको निम्ति बैंक तथा लेखा शाखाबाट स्वयमले नै गर्न तथा अन्य कुनै व्यक्तिहरुलाई बुझाएमा क्याम्पस प्रशासन जिम्मेवार नहुने समेत जनाएको छ । बुटवल बहुमुखी क्याम्पसमा निर्वतमान स्ववियू सदस्य समेत हुन् । उनी नेकपा एमाले निकट अनेरास्ववियुबाट स्ववीयु सदस्यमा निर्वाचित भएका थिए । कुँवरले १२ जनाभन्दा धेरै विद्यार्थीसँग रकम लिएर पनि परीक्षा फारम नभरिदिएपछि इलाका प्रहरी कार्यालय बुटवलमा  ठाडो उजुरी परेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्र बहादुर रानाका अनुसार कुँवरले  विद्यार्थीहरूको प्रथम वर्षमा भर्नाका लागि पैसा अन्य कागजपत्र लगेको र फिर्ता नगरेको पाईएको पुष्टि गरे । प्रहरीका अनुसार चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आफूहरुको शुल्क नबुझाएको पाइएपको भन्दै सम्पर्कमा आएपछि घटना सार्वजनिक भएको हो । 

कुँवरको बदमासी प्रहरीले पुष्टि गरेसँगै क्याम्पसले कारवाही गरेको क्याम्पस प्रशासनले जनाएको छ । कुँवरलाई  अनेरास्ववियु रुपन्देहीका भरत अर्यालले संगठनको हितविपरित काम गरेको भन्दै साधारण सदस्यबाट समेत निलम्बन गरेको वक्तव्य जारी गरेका थिए । कुँवरको बदमासी पुष्टि भएपछि चैत ५ को मिति राखेर अनेरास्ववियूले कारवाही गरेको जनाइएको छ ।   

 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update