बुटवल- जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई सांसद पद समेत नरहने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
ललितपुरको बालकुमारीमा तीन दिन चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेर अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश सांसदलाई कारबाही गर्ने निर्णय गरेको हो ।
निष्कासित हुनेहरूमा लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहेका छन् । लुम्बिनीका चार सांसदहरूले पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको र सरकारमा सहभागी भएपछि कारबाही गरिएको हो ।
कारबाहीमा परेका सांसदहरूको पद रिक्त गर्न सम्बन्धित प्रदेश सभाहरूमा छिट्टै पत्राचार गरिने जसपा नेपालले जनाएको छ ।

