Lumbini Rise
फेरी बढ्यो अण्डाको मुल्य

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ ।  संघको भदौ १८ गतेको बैठकले उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ ।

संघले शुक्रबारदेखि लागू हुने गरी एक्सएल अन्डाको समर्थन मूल्य ६०५ रुपैयाँ तोकेको छ ।  त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ र मिडियम अन्डाको मूल्य ५५० रुपैयाँ कायम गरिएको छ । संघले तोकेको समर्थन मूल्यमा सानो अन्डाको मूल्य प्रतिपेटी ३ हजार २ सय रुपैयाँ कायम गरेको छ ।

संघले उत्पादक, संकलनकर्ता, थोक तथा खुद्रा व्यवसायीलाई तोकिएको समर्थन मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ । उपभोक्ता मूल्य भने ठूलो अन्डा प्रतिगोटा २५, मिडियम अन्डा २ वटाको ४५ रुपैयाँ तोकेको छ। यसअघि भदौ ४ मा अन्डाको समर्थन मूल्य तोकिएको थियो ।

नयाँ सानो अन्डाको प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ भने एक्सएल, ठुलो र मिडियम अन्डाको प्रतिक्रेट मूल्यमा १५ रुपैयाँ बढेको छ । जसमा एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५९० रुपैयाँ थियो । अहिले १५ रुपैयाँ बढाएर ६०५ पुर्‍याइएको छ । ठुलो अन्डामा पनि प्रतिक्रेट १५ रुपैयाँले बढेर ५९० समर्थन मूल्य तोकिएको छ । 

मिडियम अन्डाको मूल्यमा पनि प्रतिक्रेट १५ रुपैयाँ बढाएर ५५० तोकिएको छ । यसअघि मिडियम अन्डाको प्रतिक्रेट मूल्य ५३५ थियो । 

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update