Lumbini Rise
भोटेकोशीको पीडामा आज राष्ट्रिय शोक

काठमाडाैं - आज राष्ट्र शोकमा छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले गुमेका ती जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीडा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौँ आँखाको प्रतीक्षामा देश शोकमग्न  छ ।

भोटेकोशीको बाढीले छोडेको पीडा तत्काल मेटिने छैन । हजारौँ परिवार अझै आफन्तको खोजीमा छन्, सयौँ परिवार घरबारविहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ । राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपत्ले भत्काएको जीवन पुनर्निर्माण गर्ने राष्ट्रिय सङ्कल्पको दिनसमेत हो । 

यही विनाशकारी घटनाको १३ औँ दिनमा सरकारले सोमबार राष्ट्रिय शोक मनाउँदै छ । मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राष्ट्रिय शोकमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । ।

भोटेकोशी बाढीले दिएको घाउ यति गहिरो छ कि आज पनि कैयौँ परिवार आफन्तको शव पर्खिरहेका छन्, कतै बेपत्ता आफन्त जीवितै फर्किने आशामा खोजीको प्रतीक्षा गरिरहेका छन् । कतै घरबास गुमाएका परिवार अस्थायी आश्रयमा दिन बिताइरहेका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ तर करिब चार हजार १९६ जना अझै सम्पर्कविहीन छन् । बाढीमा एक हजार ३४२ जनाको मानवीय क्षति भएको विवरण प्राप्त भएको छ । सनाखत भई परिवारले बुझेका शवको सङ्ख्या ९८ रहेको छ ।

सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी तथा कर्मचारी र विदेशी नागरिकसमेत छन् । रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार करिब एक हजार ८५७ नेपाली नागरिक तथा नुवाकोटबाट प्राप्त विवरण अनुसार करिब दुई हजार ३४० नेपाली नागरिक सम्पर्कविहीन छन् ।  सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५९९ जना सम्पर्कविहीन रहेको विवरण छ ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update