बुटवल । बुटवलमा आयोजित अन्तर विद्यालय मौलिक तीजगीत प्रतियोगिता–२०८३ को उपाधि तिनाउ ईग्लिस बोर्डिङ स्कुलले जितेको छ । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १८औँ स्थापना दिवस तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
‘संस्कृति संरक्षणमा शिक्षाको महत्व’ विषयमा आयोजित प्रतियोगितामा रुपन्देहीका १३ वटा विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा प्रथम भएको तिनाउ ईग्लिस बोर्डिङ स्कुलले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
बुटवलको इन्टलेक्चुअल एकेडेमी दोस्रो हुँदै ३० हजार रुपैयाँ तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने न्यू होराइजन ईग्लिस बोर्डिङ सेकेन्डरी स्कुल तेस्रो हुँदै १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, देवदहको न्यू लुम्बिनी ईग्लिस बोर्डिङ स्कुल र बुटवलको लक्ष्मी माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गर्दै जनही ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै मेयर पाण्डेयले मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै विपद्को सामना गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अस्मिना पाण्डेय, बुद्ध सामुदायिक टेलिभिजनका उपाध्यक्ष अरुणकुमार श्रेष्ठलगायतले बोल्नुभएको थियो।
टेलिभिजनका अध्यक्ष झपटबहादुर गुरुङ (जेभी)ले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले तीजको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिता बुटवल उपमहानगरपालिकाको मुख्य संरक्षकत्व तथा तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिका र कञ्चन गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको हो ।
प्रतियोगितामा यसोदा फुड्स प्रालि मुख्य प्रायोजक तथा अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि र अर्घाखाँची सिमेन्ट लिमिटेड प्रायोजक रहेका थिए


