बुटवल – पुस्तकालय स्थापना गरेबापत जेल जानुपर्छ भन्ने सुन्दा अहिलेका पुस्तालाई पत्याउन मुस्किल पर्छ । तर, ७५ वर्षअघि पुस्तकालय स्थापना गरेबापत जेल जानुपरेको उदाहरण बुटवलमा भेटिन्छ ।
नेपालकै पुरानोमध्येको एक महावीर पुस्तकालय स्थापना गरेबापत तत्तकालिन राणा शासकबाट पुस्तकालयका संस्थापक ओमशंकर श्रेष्ठ र स्व.सत्यलालले ९ महिना जेल जीवन बिताउनुपरेको थियो ।
राणा शासन विरुद्ध राजनीतिक चेतना जागरण गरेको अभियोगमा भैरहवामा जेल सजाय भोगेका हुन् । विसं २००४ साल असार महिनामा तत्तकालिन बटौलीमा महावीर पुस्तकालय स्थापना गरेबापत संस्थापकहरूले २००६ सालमा जेल (कारागार) बस्नुपरेको हो ।
‘महावीर पुस्तकालय राणा शासन विरुद्धको आन्दोलन स्वरूप स्थापना भएको देखिन्छ’ पुस्तकालयका पूर्व अध्यक्ष एवम् बुटवलका जानकार ७५ वर्षीय देवेन्द्रराज शाक्यले भने –‘यो पुस्तकालय मात्रै थिएन, राजनीतिक जागरण जगाउने अभियान थियो ।’ बटौली बजार व्यापारिक थलो भए पनि तत्तकालिन समयमा युवाहरूले ज्ञानको ज्योति फैलाउनकै लागि पुस्तकालय खोलेको शाक्य बताउँछन् ।
‘बटौली पहाडबाट झरेकाहरूको बास र मुग्लानीहरुको व्यापारिक स्थल थियो, व्यापारमा मात्रै ध्यान नदिएर राणा शासनको बेलामा पनि मुठीदानबाट पुस्तकालय स्थापना गर्ने सोच आउनु ठुलो कुरा थियो’ शाक्य भन्छन् –‘पुस्तकालयसँगै ज्ञानको ज्योति र चेतनाको जागरण भयो ।’
पूर्व अध्यक्ष शाक्यले भनेजस्तै राणा शासक विरुद्ध राजनीतिक जागरण जागृत गराउने पुस्तकालय अहिले भने आफै बिरामी परेको छ । राणा, पञ्चायत, बहुदल हुँदै गणतन्त्रको प्राप्तिसम्म आइपुग्दा पुस्तकालयले पाठकहरू क्रमशः गुमाउँदै गएको छ ।
कुनै बेला प्रमुख राजनीतिज्ञ, साहित्यकार, विशिष्ट व्यक्ति, राजदूतसम्मले अध्ययन गर्ने पुस्तकालय अहिले भने सुनसान छ । पुस्तकालयमा मानिसहरूको भिड थामि नसक्नु हुन्थ्यो । यतिसम्मकी महिनाभर न्यूनतम शुल्क तिरेर अध्ययन गर्नेहरूको ताँती नै लाग्थ्यो । ‘२०२२ सालमा पाल्पाबाट यहाँ आउँदा महावीर पुस्तकालयमा पच्चिस पैसा महिनावारी शुल्क तिरेर पढ्न जान्थेँ’ लेखक समेत रहेका शाक्यले भने ।
शाक्यले जस्तै पछिसम्म पनि न्यूनतम शुल्क तिरेर पुस्तकालय जानेहरू अरू पनि थिए । तर, पछिल्लो १५ वर्षयता न्यूनतम शुल्क तिरेर पुस्तकालय जाने पाठक पाउनु त कता हो कता । पुस्तकालयमा कोही आउँदा पनि अचम्म मान्नुपर्ने अवस्था छ ।
‘पुस्तकालय बुटवलको इतिहास हो, हामीले संरचना सुरक्षित राखेका छौँ’ पुस्तकालयकाका सदस्य सचिव बाबुराम पौडेले भने । उनका अनुसार पुस्तकालयमा ८ हजार ५ सय पुस्तकहरू छन् । ‘अध्ययन अनुसन्धान गर्ने पाठकहरू मात्रै आउँछन्, नियमित रूपमा अध्ययन गर्ने पाठक यहाँ आउँदैनन्’ उनले भने । पुस्तकालयमा धर्मसंस्कृती, इतिहास, राजनीति, दर्शन, साहित्य, विभिन्न भाषा भाषीका पुस्तकहरू छन् ।
पुस्तकालय आफ्नै भवनमा छ । चार वटा भवन छन् । पुस्तकालय सञ्चालनको नियमित आम्दानी छैन । भएका भवनहरूलाई २०५२ सालदेखि महावीर अङ्ग्रेजी स्कुललाई भाडामा दिइएको छ ।
अहिले पुस्तकालय विद्यालयका कारणले मात्रै खुल्ला हुन्छ । साँझको समयमा २ घण्टा खुल्ला हुने भनिए पनि नियमित खुल्दैन । पाठक नै नआएकाले पुस्तकालय नखोलिएको सदस्य सचिव पौडेलले बताए ।
प्रविधिमा आएको परिवर्तन र पठन संस्कृति हराउँदै जाँदा पुस्तकालय पनि खण्डहर बन्ने जोखिम बढेको छ । ऐतिहासिक पुस्तकालय जोगाएको वर्तमान समितिले किताब संरक्षणको काम गर्दै आएको पौडेलले बताए ।
प्रदेश सरकारको सहयोगमा पुस्तकालयमा नयाँ दराज ल्याइएको छ । यसले किताबलाई सुरक्षित रूपमा राख्न सकिने समितिको विश्वास छ । बुटवल उपमहानगरले पनि पुस्तकालयलाई वार्षिक सहयोग गर्दै आइरहेको उनले बताए । तर, आधुनिक युग अनुसार इ–लाइब्रेरीका रूपमा विकास गर्ने गरी योजना बन्न सकेको छैन ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल लायन्स आँखा अस्पतालबाट करिब २ सय मिटर उत्तरमा पुस्तकालय छ । २००७ सालको प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेलेको पुस्तकालयलाई नगर पुस्तकालयका रूपमा विकास गर्नुपर्ने पूर्व अध्यक्ष शाक्यको सुझाव छ ।
उनले महावीर पुस्तकालयलाई बुटवल उपमहानगरले नै नगर पुस्तकालयका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिन्छन् । सार्वजनिक पुस्तकालयको महत्वलाई बुझाउन सक्ने हो भने नयाँ पुस्ता पनि पठन संस्कृतिमा जोडिने उनको विश्वास छ ।
पटक–पटक उतारचढाव
राणा शासनको अन्त्यअघि स्थापना भएको महावीर पुस्तकालय एउटा आन्दोलन थियो । चेतना ज्ञान र शिक्षाका लागि पुस्तकालयमा किताब मात्रै थिएनन्, विद्रोहका चेतना जागृत गर्ने स्थल पनि थियो ।
ऐतिहासिक पुस्तकालयलाई पुन सञ्चालनका लागि स्व. सूर्यप्रसाद प्रधानको सहयोग र अन्य व्यक्तिहरूको समेत सहयोगमा २०५० साल भदौ २६ गतेबाट सञ्चालनमा आएको हो । त्यसयता पुस्तकालय निरन्तर सञ्चालन भइरहेको छ । तर, पछिल्ला वर्षमा पाठक नै नपाएपछि फेरी बन्द हुने त होइन भन्ने अवस्थामा पुगेको छ ।
विसं २००४ सालमा हिकमत प्रसाद श्रेष्ठ, ओमशंकर श्रेष्ठ, स्व. टोपबहादुर श्रेष्ठ, स्व. जोगलाल बजिमय, स्व. सत्यलाल श्रेष्ठ संस्थापक भएर पुस्तकालय स्थापना गरेका हुन ।
रातको समयमा माईन्यूट गरेर पुस्तकालय खोलेका थिए । पुस्तकालयको संरक्षकमा स्व. शक्तिप्रसाद श्रेष्ठ, स्व. हरिबहादुर सिंह, स्व. लालप्रसाद श्रेष्ठ, स्व. गणेशमान सैजु, केशवराज मास्के, रामबहादुर बजिमय, सूर्यप्रसाद प्रधान, जगतकृष्ण श्रेष्ठ, द्रोणराज जोशी, परीक्षित प्रसाद लाकौल र जंगप्रसाल अमात्य छन् ।
अमात्य जग्गादाता हुन् । पुस्तकालयको हिक्मत प्रसाद श्रेष्ठ, सत्यलाल श्रेष्ठ, बाबुलाल श्रेष्ठ, कुसुम कुमारी लाकौल, महेश्वर प्रसाद लाकौल, ओमशंकर श्रेष्ठ, महेन्द्र प्रसाद श्रेष्ठ, देवेन्द्रबहादुर श्रेष्ठ, देवेन्द्रराज शाक्य पूर्व अध्यक्षका रूपमा काम गरेका छन् । अहिले महेन्द्रकुमार राजभण्डारी अध्यक्ष छन् ।