
बुटवल- रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान अन्तर्गत रिजन पाँचका रोटरी क्लबहरूको संयुक्त पहलमा कर सचेतना सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेम पोखरेलले उद्घाटन गर्दै करसम्बन्धी जानकारीमूलक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले कर प्रणालीप्रति जनचेतना अभिवृद्धि भइरहेको भन्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन जरुरी रहेको बताए । कतिपय कर सम्बन्धी अनभिज्ञतालाई उजागर गर्न कार्यक्रम सफल रहेको समेत उनको दाबी छ । कर शिक्षा, पारदर्शिता र उत्तरदायित्वका विषयमा बृहत् छलफल गरिएको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले क्लबहरूबिचको समन्वयलाई संस्थागत गर्दै अगाडि बढ्ने प्रतिबद्धता अनुसार रचनात्मक कार्यहरूमा जोड दिँदै आएको बताए । यस प्रकारको कार्यक्रमबाट साझा उद्देश्यतर्फ उन्मुख बनाउन मद्दत मिल्ने समेत उनले बताए ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष शिव ज्ञवालीले समुदायमा सात लक्षित क्षेत्रमा रहेर रोटरीबाट परियोजनाहरू चलाउँदै आएको बताए । सामाजिक उत्तरदायित्वका साथसाथै आर्थिक शुद्धतामा समेत टेवा पुर्याउने गरी संयुक्त रूपमा कार्यक्रम गर्न सफल भएको समेत उनले बताए ।
कार्यक्रममा एजी खिमानन्द पाण्डेले रोटरी क्लबहरू केवल सेवा मात्र होइन, जिम्मेवार नागरिक निर्माणमा पनि भूमिका खेल्न सक्षम रहेको बताए । करबारेको जानकारी नागरिक सचेतनाको महत्त्वपूर्ण आधार भएको भन्दै उनले यस किसिमको कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिए ।
कार्यक्रममा रोटरी क्लब बुटवल चौतारीका नुमलाल पौडेलले यस्तो सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा अझै उपयोगी र व्यावहारिक कार्यक्रम ल्याउने समेत बताए ।
चार्टड एकाउन्टेन्ट प्रमोद खनालले सहजीकरण गरेको कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान अन्तर्गत रिजन पाँचका १९ वटा रोटरी क्लबहरूका करिब २ सय बढी रोटरीयनहरु सहभागी भएका थिए । कार्यक्रममा रोटरी क्लब अफ बुटवल चौतारीले आफ्ना सदस्यहरूलाई उल्लेख्य मात्रामा सहभागी गराएको थियो ।