
बुटवल- नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई स्मरण-पत्र बुझाएको छ । पार्टीका रुपन्देहीका अध्यक्ष हिराध्वज शाहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे मार्फत स्मरण-पत्र बुझाएका हुन् ।
‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा सहित देशव्यापी आन्दोलनमा रहेको समाजवादीले केन्द्र, प्रदेश जिल्ला, पालिका सम्म मागहरूका बारेमा स्मरण पत्र बुझाएको सो पार्टीले जनाएको छ ।
रुपन्देही जिल्ला कमिटीले वैशाख १९ गते जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रका मागहरू पुन स्मरण गराउन स्मरण पत्र बुझाइएको जिल्ला अध्यक्ष हिराध्वज शाहले बताए ।
वैशाख १९ गते जिल्लाको वस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शिता, जबाफदेहिता लगायतका पक्षहरू समेटेर समाजवादीले ज्ञापन पत्र बुझाएको थियो ।
स्मरण पत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी घिमिरेले यसअघि आएका मागहरू पनि सम्बन्धित क्षेत्रमा पुर्याएको बताउँदै पुन स्मरण पत्र पुर्याउने बताए । घिमिरले मागपत्र आफूले हेरेको बताउँदै मेहनतका साथ बनाइएको मागहरुका बारेमा प्रधानमन्त्री कार्यालयमा पठाइएको बताउँदै जिल्ला तहका माग सम्बोधनका क्रममा रहेको बताए ।
नेकपा एकिकृत समाजवादी रुपन्देहीका इन्चार्ज नन्द बन्जाडेले आफूहरु आन्दोलनमा रहेको बताउँदै बजेटपश्चात पनि माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने जानकारी दिए ।
स्मरण पत्र बुझाउने कार्यक्रममा नेकपा एकीकृत समाजवादका पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडे, केन्द्रीय सदस्यद्धय बाबुलाल यादव, उमा काफ्ले सहित प्रदेश उपाध्यक्ष कमल भण्डारी, जिल्ला उपाध्यक्ष उपाध्यक्ष अविराम विक अर्का उपाध्यक्ष मिरा श्रेष्ठ, सचिव टंक पोखरेल, उपसचिव बाबुराम अर्याल, शारदा भट्टराई पहारी, जिल्ला सदस्यहरू विजय दाहाल, सफरुद्धिन अन्सारी, टेकसिंह थापा लगायतको उपस्थिति रहेको थियो ।