Lumbini Rise
बेलहिया नाका : २ खर्ब बढीको आयात, साँढे १६ अर्ब मात्रै निर्यात व्यापार

भैरहवा– भैरहवा बेलहिया भन्सार नाकाबाट भारत तथा तेस्रो मुलुकमा  पछिल्लो १० महिनामा १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ।  गत वर्षको तुलनामा यो ४५.२२ प्रतिशत निर्यात व्यापार वृद्धि हो । तर याे नाकाबाट आयात भने  निकै बढि छ ।

बेलिहया भन्सार कार्यालयका अनुसार  चालु वर्षको साउनदेखि वैशाखसम्म १० महिनामा २ खर्ब १६ अर्ब ४८ करोड रुपैयाँका विभिन्न सामान आयात भएका छन्। याे गत वर्ष भन्दा ९.९९ प्रतिशतले बृद्धि भएकाे हाे । 

आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाखसम्म ११ अर्ब ३२ करोडको सामान भारत तथा तेस्रो मूलक निर्यात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । उनका अनुसार चालु वर्ष भैरहवा नाका हुँदै भटमासको प्रशोधित तेल, सूर्यमुखीको प्रशोधित तेलको निर्यात उच्च देखिएको छ । 

यस अवधिमा भटमासको प्रशोधित तेल ४ अर्ब ९३ करोड बढी निर्यात भएको छ । गत वर्ष सबैभन्दा बढी निर्यात हुनेमा एक नम्बरमा सेन्थेटिक यार्न रहने गरेकोमा अहिले भटमासको प्रशोधित तेलले त्यो स्थान ओगटेको छ । यो १० महिनामा सेन्थेटिक यार्न २ अर्ब ८४ करोड ८४ लाख रुपैयाँ बराबरको निर्यात भएको तथ्याङ्क छ । 

सेन्थेटिक यार्न भारत तथा टर्कीलगायतका मुलुकमा निर्यात हुँदै आएको छ । त्यसै गरी १ अर्ब २० करोड २२ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । लामो समयदेखि रोकिएको सिमेन्ट निकासी एक महिनाअघि देखि मात्र सुचारु भएको थियो । त्यसै गरी ७७ करोड ३२ लाख रुपैयाँ बराबरको १० लाख ५० हजार ५ सय ६० किलो खथरकत्था निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

पिना र त्यस्तै वस्तु ७२ करोड ९७ लाख रुपैयाँ बढीको निर्यात भएको छ । फलाम वा स्टिलका भाँडाकुँडाको निर्यात पनि बढ्दै गएको छ । तर जित निर्यात छ आयात भने निकै बढि छ । बेलहिया भन्सारबाट आयातकाे भार धेरै छ । 

भन्सार नाका हुँदै सबैभन्दा बढी आयात हुने १० वस्तुहरूमा सबै प्रकारका मोटरसाइकल, जिप, कार भ्यानहरू, पेट्रोल, विद्युतबाट सञ्चालित जिप, कार भ्यान, शुद्ध फलाम, डबल क्याब पीक अप गाडी, मोबाइल टेलिफोन सेट, एम।एस। विलेट, चकलेट, एलपि ग्याँस रहेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update