Lumbini Rise
काँग्रेसले भन्यो –‘गृहमन्त्री लेखकले  राजीनामा दिनुपर्दैन’

काठमाडौँ- नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको ठहर गरेको छ। पार्टी पदाधिकारीको सोमबार बसेको बैठकपछि प्रवक्ता प्रकाश शरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेकाले राजीनामा दिनुपर्ने ठहर गरेको बताए । ‘गृहमन्त्री ज्यूले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो। त्यसपछि बैठकले उहाँको भनाइलाई सदर गरेको छ’ महतले सञ्चारकर्मीसँग भने । 

भिजिट भिसा प्रकरणमा संलग्न नभएकाले राजीनामा दिन आवश्यक नभएको महतले बताए। संलग्न नभएकाले लेखक छानबिनको दायरामा नरहेकाले दोषी भनेर आरोप लगाउनुको औचित्य नरहेको उनको भनाइ छ।

भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि लेखक विवादमा तानिएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अनुसन्धानका लागि बोलाएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई गृह मन्त्रालयमा सरुवा भएको भोलिपल्टै अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

अख्तियारले जेठ ७ गते अपराह्न गृह मन्त्रालयबाटै सहसचिव भट्टराईलाई नियन्त्रणमा सोधपुछ गरेर साँझ छोडेको थियो। गृहमन्त्री बनेपछि लेखकले नै भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख बनाएर पठाएका थिए। त्यहाँबाट सरुवा भएर गृह फर्किएको भोलिपल्टै उनी अख्तियारको अनुसन्धानमा तानिएका थिए।

भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराई अख्तियारको ‘रडार’ मा परेको सुइँको पाएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमा सरुवा गरिएको आशङ्काले पनि गृहमन्त्री लेखकलाई विवादमा ल्याइदिएको थियो।

उक्त प्रकरणमा भट्टराई एक्लैको नभएर गृहमन्त्रीको समेत ‘मिलेमतो’ भएको भन्दै विपक्षी दलहरू विरोधमा उत्रिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले गृहमन्त्री लेखकको राजीनामा माग गरेको छ।

गृहमन्त्री र उनको सचिवालय भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको सार्वजनिक भएकोमा आपत्ति जनाउँदै रास्वपाले राजीनामा मागेको हो। नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पनि लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update