
पाेखरा - राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे दोहोरिएका छन्। उनले अध्यक्षका प्रत्यासी सुमन परीलाई १८८ मतअन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन्।
पोखरामा ५ दिनदेखि जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानको अन्तिम परिणाममा थेवे ७९६ मत प्राप्त गरे। पुरीको पक्षमा ६०८ मत परेको छ।
महाधिवेशनस्थल पोखरा सभागृहमा बिहान १० देखि दिउँसो ४ बजेसम्म भएको मतदानमा कुल मतदाता १७६४ मध्ये १४०४ मत खसेको निर्वाचन अधिकृत ईश्वरी पौडेलले जानकारी दिइन्।
उपाध्यक्षमा पनि थेबे प्यानलबाट महाराज गुरुङ र विनय शाह निर्वाचित भए। गुरुङले ८९५ र शाहले ७७३ मत पाए ,पधिकारीमध्ये सर्वाधिक मत उपाध्यक्ष महाराज गुरुङले पाएका छन् ।
पुरी प्यानलका पर्वत भण्डारीले ६०३ र प्रकाश गौतमले ५३७ मत ल्याउँदै पराजित भए । महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७५५ र उपमहासचिवमा उपेन्द्र शाही ८१५ मत ल्याउदै निर्वाचित भए । पुरी प्यानलका महासचिव कुबेर अधिकारीले ६४९ र उपमहासचिव खेमराज शर्माले ५८९ मत ल्याएर पराजित भए ।
खुला सचिवमा अरुण बहादुर कुवरले ६४८ र मदन भण्डारी ७९४ मतसहित निर्वाचित भए । अरुण पुरी प्यानलबाट निर्वाचित हुने एकमात्र पदाधिकारी हुन् । पराजित भएका देव बस्नेतले ४८१, ध्रुव खड्का ४३७ र वकिलबहादुर बमले ४४८ मत ल्याए ।
सचिव (मधेशी) तर्फ थेबे प्यानलका मोबिल अख्तर आलम र सचिव (महिला) तर्फ निशा लिम्बू सुब्बा निर्वाचित भए । आलमले ७४३ र सुब्बाले ६४६ मत पाए । सचिव (मधेशी) तर्फ प्रत्यासी चितरन्जन यादवले ४८० र सचिव (महिला) तर्फका प्रत्यासी रेशु तामाङले ६१४ मत प्राप्त गरे।
पदाधिकारीमा सर्वाधिक कम मतान्तर महिला सचिव निशा लिम्बु र रेशु तामाङबीच भयो । रेशु निशासँग ३२ मतले स्तब्ध भइन् ।