
बुटवल - तीन आमाछोरीको बीभत्स हत्याको अभियोगमा पक्राउ परेका सुजन कोईरालाले फकाई फकाई घरमै लगेर तीन आमाछोरीको हत्या गरेको खुलेको छ । पाल्पा तानसेन ७ स्थायी बसोबास रहेका कोइरालाले बुटवल ११ होराईजनचोक स्थित मिलीजुली पथमा रहेको आफ्नै घरमा लगेर बीभत्स ढङ्गले हत्या गरेको खुलेको हो ।
अभियुक्त कोइरालाले सम्बन्ध विच्छेद भइसकेकी पूर्व श्रीमती ३३ वर्षीय दीपा बस्याल,उनकी छोरी ७ वर्षीय स्नेया र ४ वर्षीय हिमानीको घरेलु हतियारले प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सुजनले बिहान ४ देखि ५ बजेको बिचमा हत्या गरेको देखिएको छ । बुटवल ११ होराईजनचोक स्थित मिलिजुलीपथमा एक तलाको ट्रस्ट हालिएको घरमा उनी एक्लै बस्दै आएका थिए । सुजनले १३ वर्षअघि पाल्पा तानसेनमा आफ्नै सहोदर माइलो दाजुलाई हत्या गरेपछि २०६९ सालमा पाल्पामा जेल चलान भए ।
जेल चलान भएपछि उनको मृतक दीपा बस्यालसँग २०७२ सालमा सम्बन्ध विच्छेद भयो । सम्बन्ध विच्छेद भएपछि दीपाले कावासोतीका शंकर ढकालसँग विवाह गरिन् । शंकरसँग विवाह भए पनि दीपा अहिले भने तानसेन नगरपालिका वडा न. स्थित कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी हुन् ।
दोस्रो विवाहपछि पनि उनी तानसेनमै बस्दै आएकी थिइन । तानसेन ७ कै दीपा र सुजनबिच प्रेम विवाह भएको थियो । १० वर्षअघि सुजन र दीपाविच सम्बन्ध विच्छेद भए पनि एक वर्षदेखि दुईजनाविच पुन सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दीपा मङ्गलवार दुईछोरीहरु सहित बुटवल आएकी थिइन। बुटवल आएपछि सुजनसँगै भेट भएको देखिन्छ ।
‘पहिल्यैदेखि बेलाबेला भेट हुने रहेछ, मङ्गलवार पनि घुमेर एउटा होटेलमा गएर सँगै खाजा खाएको देखिन्छ’ इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र रानारानाले भने । उनका अनुसार राती ८ देखि ९ बजेसम्म बुटवलकै कुनै एक होटेलमा खाजा खाएको र त्यसपछि सुजनको घरमा पुगेको देखिएको छ । प्रहरीका अनुसार दीपा, दुई बच्चाहरूसहित सुजनले आफ्नो बाइकमा घुमाएका थिए ।
हत्यापछि खबर यसरी पुग्यो
चक्कु, हेम्बर र त्यतिले नभएर बच्चाहरूलाई घाँटी च्यापेर हत्या गरेको प्रमाण भेटिएको छ । ‘घटना अत्यन्तै बीभत्स रूपमा भएको छ, प्रहरी घटनास्थल पुग्दा तीनै जनाको शव रगताम्य थियो’ जिल्ला प्रहरी रुपन्देहीका प्रवक्ता तथा प्रहरी उपरीक्षक सुरज कार्कीले भने । घटनाको खबर उनै सुजनले नै गर्न लगाएको हुनसक्ने अनुमान गरिएको छ । घटना बिहान ४ बजेतिर भएको प्रहरीले जनाएको छ ।
सुजनले घरमा किचनको काम गराउँदै आएका थिए । प्रहरीका अनुसार बुधवार ६ बजेतिर काम गर्ने अर्जुन रञ्जनलाई बोलाएँ । उनी त्यहाँ साँढे ६ बजेतिर आइपुग्छन् ।
घरमा पुग्दा रगताम्य शवहरू देखेपछि उनले तुरुन्तै देविनगर प्रहरीलाई खबर गरेका हुन् । प्रहरी तुरुन्तै घटनास्थल पुगेर सुजनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । स्थानीयहरूका अनुसार सुजनले हत्या गरेपछि टोल छिमेकीहरूले आक्रमण गर्ने भयले आफैले प्रहरी बोलाउन लगाएको हुनसक्ने बताएका छन् ।