Lumbini Rise
लुम्बिनीको महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य : मुख्यमन्त्री आचार्य

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । 

शनिवार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताए ।

‘लुम्बिनी देवभूमि हो । ज्ञानभूमि हो । तपोभूमि हो । यसको महत्त्व विश्वभर फैलाउन जरुरी छ । यसका लागि सञ्चार माध्यमहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहन्छ’ मुख्यमन्त्री आचार्यले भने–‘लुम्बिनी प्रदेशका समग्र क्षेत्रको विषयमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वको ध्यानाकर्षण गराउन मिडिया क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सबै मिलेर अघि बढ्न जरुरी छ ।’

सरकारका काममा स्वस्थ आलोचना हुनु जरुरी भए पनि राम्रो कार्यहरूलाई अन्देखा नगर्न आग्रह गरे । ‘सरकारका कमजोरी छन् भने त्यसको स्वस्थ आलोचना गर्नुस् । तर, सरकारको राम्रो काम हुँदा पनि अन्देखा गर्नुहुन्न’मुख्यमन्त्री आचार्यले भने ।

उनले सञ्चार माध्यमको सहयोगबिना लुम्बिनीको प्रचारप्रसार विश्वव्यापी बन्न नसक्ने उल्लेख गर्दै उनले पर्यटन क्षेत्रका खबरहरू जनजनका कानमा पुर्‍याउन सञ्चार माध्यमले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । 

त्यसै गरी, मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशबाट टेलिभिजन र रेडियो दुवैको नवीकरण प्रक्रिया अघि बढाउन संघीय सरकारसँग समन्वय भइरहेको जानकारी दिए ।‘प्रदेशमा मिडिया दर्ता भइरहेका छन् ।

अब नवीकरणको काम पनि प्रदेश तहबाट गर्न सकिने विषयमा संघीय सरकारसँग समन्वय भइरहेको छ’ उनले भने –‘यसको निकास पनि छिट्टै निस्कने छ ।’

टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालामा राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीका अध्यक्ष नरेश केसीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, वर्तमान मन्त्रीहरू, संघीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update