Lumbini Rise
आर्थिक विधेयकका बारे बुटवलमा अभिमुखीकरण  

बुटवल– बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखीकरण गरेको छ । संघले सोमबार कार्यक्रमको आयोजना गरी आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा अभिमुखीकरण गरेको हो ।

त्यस अवसरमा आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत टिकाराम गैरेले उद्योगी व्यवसायीलाई गरिएको अभिमुखीकरणले बजेट र आर्थिक विधेयकले सम्बोधन गरेका कुराहरूका बारेमा जानकारी हासिल गर्ने बताउँदै सम्बोधन भएका छुट सुविधाबाट लाभ लिन आग्रह गरे । उनले अहिले बजारमा नक्कली करदाता विजक समेत जारी हुने भएकाले त्यसप्रति सचेत र सजग रहन आग्रह गरे । 

संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वल प्रसाद कसजूले समग्रमा बजेटले धेरै विषयवस्तु समेटेको बताउँदै आफूहरूले उठान गरेका कुराहरू समेटिएकाले सकारात्मक रूपमा लिएको भनाई राखे । आर्थिक विधेयकमा समावेश भएका विषयहरू आम उद्योगी व्यवसायीलाई बुझाउन सकियो भने त्यसबाट उनीहरूले लाभ लिन सक्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले सरकारले ल्याएको आर्थिक विधेयक र बजेटमा समेत समावेश भएका विषयहरू विषय विज्ञबाट जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । उनले आर्थिक विधेयकमा कतिपय गहिरा र मसिना विषयहरू पनि हुने र त्यस्ता विषयमा जानकारी नहुँदा उद्योगी व्यवसायीले लाभ लिने कुरामा चुकिरहेको बताउँदै समय सान्दर्भिक रूपमा गरिएको कार्यक्रम लाभदायक हुने विश्वास व्यक्त गरे ।

2-1748876659.jpg


त्यस अवसरमा आर्थिक क्षेत्रका विज्ञ नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) रुपन्देहीका सचिव सिए सगुण खनालले कार्यपत्र प्रस्तुत गर्दै राजश्वका अन्य स्रोतहरूमा भएको व्यवस्था, आर्थिक विधेयक २०८२, करको दरमा भएको हेरफेर, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, भन्सार महसुल लगायतका नयाँ प्रावधानका विषयमा जानकारी गराए ।

उनले सरकारले राजश्वका अन्य स्रोतहरू व्यवस्था गरेको बताउँदै आर्थिक विधेयक २०८० मार्फत ल्याइएको वैदेशिक पर्यटन शुल्कलाई आर्थिक विधेयक २०८२ ले खारेज गरेको बताए । तर आर्थिक ऐन असार मसान्तसम्म रहने हुँदा पर्यटन शुल्क असार मसान्त सम्म कायमै रहने उहाँले जानकारी गराए । त्यस्तै हरितकरको दरमा परिवर्तन भएको छ । वैदेशिक रोजगार सेवा शुल्क थप गरिएको छ । विलासिताका बस्तुमा शुल्क थप गरिएको छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि शिक्षा सेवा शुल्क थप गरिएको छ ।

त्यस्तै आर्थिक विधेयकमा जलविद्युत आयोजनाले बैङ्क जमानतमा पैठारी गर्न सक्ने, ढुवानी साधनको भाडा बापतको खर्च कट्टी, अवकाश योगदान बापतको रकम हस्तान्तरण गर्ने, सामाजिक संस्थालाई छुट, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कमा छुट सुविधा, अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक तथा हवाई टिकट विक्रेतालाई छुट, आय विवरण पेस नगरेकालाई छुट सुविधा, विद्युतीय सेवा प्रदायकलाई सुविधा, सार्वजनिक तथा निजी सवारी साधनलाई आयकर छुट लगायतका छुट सुविधा प्रदान गरिएको बताए ।

कार्यक्रममा सहभागी संघका पूर्वअध्यक्षहरु, पदाधिकारी तथा सदस्य उद्योगी व्यवसायीहरूले बजेट तथा आर्थिक विधेयकमा भएका व्यवस्थाका बारेमा अस्पष्ट कुराहरूमा अन्तरक्रिया गरेका थिए । कार्यक्रम संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको धन्यवाद तथा सचिव प्रतीक पोखरेलको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update