
बुटवल - तिलोत्तमा नगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मन्च रुपन्देहीको व्यवस्थापनमा दलित युवायुवतीहरुका लागि सञ्चालित तीन दिने लेखा तालिम मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दलित समुदायको उत्थान र नेतृत्व विकासका लागि पालिकाले महत्वपूर्ण कार्यक्रमहरु ल्याएको भन्दै तालिममा सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तैगरी नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रबि सेन्चुरीले बोल्दै लेखा तालिमबाट आर्जन गरेको सीपले युवाहरुमा उत्साहका साथ काम गर्न प्रेरणा मिल्ने बताए । सेन्चुरीले स्थानीय तहमा दलित समुदायको हितका लागि विभिन्न कार्यक्रमहरु ल्याएको समेत बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा विपद् व्यवस्थापन समिति संयोजक सुरेन्द्र श्री, तिलोत्तमा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।
तीन दिनसम्म सन्चालन भएको तालिममा तिलोत्तमा नगरपालिका भित्रका १७ वटा वडाका ३६ जना युवायुवतीहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । तालिम अवधिभर प्राध्यापक जीवन परियार र सीए दीपक बिश्वकर्माले प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रम नगरपालिकाका कार्यपालिका सदस्य रबि सेन्चुरीको अध्यक्षतामा सामुदायिक विकास जागरण मन्चका अध्यक्ष राम विश्वकर्माले सञ्चालन गरेका थिए ।