
बुटवल- देवदह नगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषित भएको छ । बुधवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईँले प्रमाणपत्र प्रदान गर्दै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषित गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख चापागाईँले घोषणासँगै नगरपालिकामा थप जिम्मेवारी बढेको बताए । ‘यसलाई दिगो बनाउन तपाइहरू स्वास्थ्य क्षेत्रमा खटिनेहरुलाई त चुनौती पनि थपिएको छ ।’ उनले भने, ‘यसलाई नगरपालिकाको सम्पूर्ण टिम र नगरवासीले समेत अपनत्व लिएर आगामी वर्षहरूमा समेत सुनिश्चितता हुने गरी काम गर्नुहोला ।’
चापागाईँले एउटा व्यक्तिलाई पूर्ण खोप दिँदा ४० हजार रुपैयाँ भन्दा बढी राज्यको खर्च हुने भन्दै यसलाई हरेक नागरिकले जिम्मेवारीका साथ लिनुपर्ने बताए । उनले खोप कार्यक्रमलाई प्रभावकारी बताउन स्वास्थ्यको आधारभूत तह मानिने महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भूमिका सरहानिय रहेको उल्लेख गरे ।
रुपन्देहीका सबै पालिकाहरू पूर्ण खोप सुनिश्चितता दिगोपना तथा पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषित भएको उल्लेख गर्दै उनले यही जेठ ३० गते भित्र जिल्लालाई नै घोषणा गर्ने तयारी रहेको जानकारी दिए ।
चापागाईँले महिला स्वास्थ्य स्वयंसेविका र पूर्ण खोप कार्यक्रम मार्फत नेपालले विश्वमा नै नमुना उदाहरण प्रस्तुत गरेको भन्दै यसमा खटिने सबै धन्यवादका पात्र भएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले हरेक नागरिकलाई खोपको महत्त्व बारे बुझाउन आवश्यक रहेको बताए । ‘दिगोपना भनेको सचेतना हो । खोप लगाउँदा हुने फाइदा र नलगाउँदा हुने असर बारे जनचेतना जगाउन सकियो भने यसको दिगोपना स्वतः हुन्छ ।’ उनले भने, ‘नगरले स्वास्थ्यलाई नागरिकको धनको रूपमा हेरेको छ, त्यसैले पनि स्वास्थ्य प्रति नगर गम्भीर छ ।’
सोही अवसरमा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत, मधुकृष्ण पौड्याल, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकाका सुरेन्द्र दुबै, वडा नम्बर ३ का अध्यक्ष यज्ञ अर्याल, नगर स्वास्थ्य शाखा प्रमुख कासिनाथ बन्जाडे, चरङ्गे स्वास्थ्य सेवा केन्द्रका प्रमुख अरविन चन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै उनीहरूले देवदहको सिक्टहन, केरवानी र नगर अस्पतालले बर्थिङ सेन्टर मार्फत सेवा दिइरहेको र हरेक वडामा रहेका स्वास्थ्य सेवा केन्द्र मार्फत खोपका कार्यक्रम सञ्चालन भइरहेको बताए ।
जनस्वास्थ्य अधिकृत गिरी तरामुको सञ्चालनमा भएको कार्यक्रममा अभियानमा सहयोग पूर्याए बापत वडा तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको थियो ।