Lumbini Rise
इलाका प्रशासन कार्यालय बुटवलमा परिचयपत्र बनाउन बिहानदेखि लाइन, सेवाग्राहीलाई सास्ती  

बुटवल – इलाका प्रशासन कार्यालय बुटवलमा राष्ट्रिय परिचयपत्र बनाउन सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । गृह मन्त्रालयले सहज र सरल रूपमा परिचयपत्रको व्यवस्थापन गर्न भने पनि सेवाग्राहीको भिड अत्यधिक भएपछि बुटवल क्षेत्रमा सेवाग्राहीले सास्ती पाएका हुन् । इलाका प्रशासन कार्यालय बुटवलले नागरिकलाई सास्ती नहोस् भनेर टोकन प्रणाली लागू गरेपनि सर्वसाधारणले परिचयपत्रका लागि पालो नै नपाएको गुनासो गरेका छन् ।

टोकन नपाएपछि तीन दिनसम्म धाउनुपरेको गुनासो गरेका छन् । लगातार दुई दिन बिहानदेखि लाइनमा बस्दा पनि राष्ट्रिय परिचयपत्र बनाउन नपाएको रुपन्देही तिलोत्तमा नगरपालिका २ सङ्कर नगरका मदन पराजुलीले गुनासो गरे । इलाका प्रशासन कार्यालयले दैनिक बिहान साँढे ९ बजेपछि टोकन वितरण गर्ने गरेको छ । तर, टोकनका लागि सेवाग्राहीहरू बिहान ५ बजेदेखि नै लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । 

qqqqq-1749213515.JPG


जिल्ला प्रशासन कार्यालय भैरहवामा भन्दा पनि बुटवलमा मानिसहरूको भिड अत्यधिक भएपछि सेवाग्राहीको भिड थेग्न नसकेको सूचना अधिकारी तथा शाखा अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताए । उनले  शुक्रवार १ सय २० र अन्य बार दैनिक २ सय जनालाई सेवा दिने गरिएको बताए। उनका अनुसार ४ महिनाअघि २ वटा स्टेसनबाट सेवा दिएकोमा सेवाग्राहीको भिड थेग्न नसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरेर ४ वटा स्टेसनबाट सेवा दिइएको छ । 

४ वटाबाट पनि भिड थेग्न नसकेकाले अब सोमबार वा मंगलबारबाट बुटवल उपमहानगरपालिका भित्र थप एउटा स्टेसन थपेर सेवा दिने तयारीमा रहेको सूचना अधिकारी ज्ञवालीले बताए ।  स्थानीय सरकारले वडा वडामा समेत परिचय पत्रका लागि घुम्ती शिविर सञ्चालन गरेपनि बुटवलमा परिचयपत्रका लागि सर्वसाधारणको भिडा थामिएको छैन । 

प्राविधिक रूपमा एक जना व्यक्तिका लागि ५ देखि ७ मिनेटको समय लाग्ने भएकाले पनि दिनमा २ सय भन्दा बढीको परिचयपत्र बनाउनै नसक्ने ज्ञवालीको भनाई छ । प्रशासनले दैनिक १ सय ८० जनालाई टोकन र १५ देखि २० जना जेष्ठ नागरिक, अपाङ्गता भएका र बिरामीहरूलाई लाइनमा नबसी सेवा दिने गरेको छ । इलाका प्रशासन कार्यालय बुटवल कार्यालयले जिल्लामै सबैभन्दा बढी राष्ट्रिय परिचय पत्रको सेवा दिएको छ ।

बुटवलमा जिल्ला बाहिर पाल्पा, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, प्युठान, बागलुङसम्मका सेवाग्राही आउने गरेकाले सेवाग्राहीको सङ्ख्या चार महिनादेखि स्थिर रहेको प्रशासनले जनाएको छ । माघदेखि जेठ २२ गतेसम्म १४ हजार ५७८ जनाले इलाका प्रशासन कार्यालय बुटवलबाट राष्ट्रिय परिचयपत्र बनाएका छन् । यस्तै यो आर्थिक वर्षको जेठ २२ गतेसम्म २७ हजार १७ जनाले राष्ट्रिय परिचय पत्र बनाएको तथ्याङ्क छ ।  

 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update