Lumbini Rise
आर्थिक विधेयकका छुट सुविधाबारे उद्योगी व्यवसायीलाई प्रशिक्षण

बुटवल-  रुपन्देही उद्योग संघले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ र २०८२-८३ को बजेटका बारेमा अभिमुखीकरण गरेको छ । शुक्रवार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा जानकारी गराइएको हो ।

 संघका अध्यक्ष दिलीप सापकोटाले सो अवसरमा बोल्नुहुँदै उद्योगी व्यवसायीलाई गरिएको अभिमुखीकरणले बजेट र आर्थिक विधेयकले सम्बोधन गरेका कुराहरूका बारेमा जानकारी हासिल गर्ने बताउँदै सम्बोधन भएका छुट सुविधाबाट लाभ लिन आग्रह गरे ।

उनले अहिले बजारमा नक्कली करदाता विजक समेत जारी हुने भएकाले त्यसप्रति सचेत र सजग रहन आग्रह गरे । अध्यक्ष सापकोटाले समग्रमा बजेटले धेरै विषयवस्तु समेटेको बताउँदै आफूहरूले उठान गरेका कुराहरू समेटिएकाले सकारात्मक रूपमा लिएको बताए । आर्थिक विधेयकमा समावेश भएका विषयहरू आम उद्योगी व्यवसायीलाई बुझाउन सकियो भने त्यसबाट उनीहरूले लाभ लिन सक्ने उनकाे भनाई थियो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष दिनेशराज रेग्मीले सरकारले ल्याएको आर्थिक विधेयक र बजेटमा समेत समावेश भएका विषयहरू विषय विज्ञबाट जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रति प्रशंसा गर्नुहुँदै आर्थिक विधेयकमा कतिपय गहिरा र मसिना विषयहरू पनि हुने र त्यस्ता विषयमा जानकारी नहुँदा उद्योगी व्यवसायीले लाभ लिने कुरामा चुकिरहेको बताउँदै समय सान्दर्भिक रूपमा गरिएको कार्यक्रम लाभदायक हुने विश्वास व्यक्त गरे ।

आर्थिक क्षेत्रका विज्ञ नेपाल चार्टर एकाउन्टेन्ट संघ (एक्यान) रुपन्देहीका सचिव सिए सगुण खनालले कार्यपत्र प्रस्तुत गर्दै राजश्वका अन्य स्रोतहरूमा भएको व्यवस्था, आर्थिक विधेयक २०८२, करको दरमा भएको हेरफेर, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, भन्सार महसुल लगायतका नयाँ प्रावधानका विषयमा जानकारी दिए । 

उनले सरकारले राजश्वका अन्य स्रोतहरू व्यवस्था गरेको बताउँदै आर्थिक विधेयक २०८० मार्फत ल्याइएको वैदेशिक पर्यटन शुल्कलाई आर्थिक विधेयक २०८२ ले खारेज गरेको तर आर्थिक ऐन असार मसान्तसम्म रहने हुँदा पर्यटन शुल्क असार मसान्तसम्म कायमै रहने बताए । 

हरितकरको दरमा परिवर्तन भएको, वैदेशिक रोजगार सेवा शुल्क थप गरिएको, विलाशिताका बस्तुमा शुल्क थप गरिएको, वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि शिक्षा सेवा शुल्क थप गरिएको, आर्थिक विधेयकमा जलविद्युत आयोजनाले बैंक जमानतमा पैठारी गर्न सक्ने, ढुवानी साधनको भाडा बापतको खर्च कट्टी, अवकाश योगदान बापतको रकम हस्तान्तरण गर्ने, सामाजिक संस्थालाई छुट, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कमा छुट सुविधा, अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक तथा हवाई टिकट विक्रेतालाई छुट, आय विवरण पेस नगरेकालाई छुट सुविधा, विद्युतीय सेवा प्रदायकलाई सुविधा, सार्वजनिक तथा निजी सवारी साधनलाई आयकर छुट लगायतका छुट सुविधा प्रदान गरिएको उद्योगीहरूलाई जानकारी गराए ।

सो कार्यक्रम मा उद्योगीहरू बाट उठान भएका जिज्ञासाहरू उपर सहजकर्ता सिए सगुन खनालले प्रस्ट पारेका थिए ।  संघका महासचिव हिरामणी भट्टराईको सञ्चालन मा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update