
बुटवल– लुम्बिनी कपडा तथा सिलाई व्यवसायी संघ लुम्बिनी प्रदेश समितिको आयोजनामा सोमबार बुटवलमा प्रथम रुपन्देही जिल्ला भेला सम्पन्न भएको छ ।पुराना पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा परम्परागत सीप बिस्तारै हराउँदै गएकोमा दुख व्यक्त गर्दै पेशाको पुस्तान्तरण नहुँदा धेरै सीपमूलक काम संकटमा परेको भेलामा बोल्ने वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै संघका संरक्षक तथा प्रमुख अतिथि राम परियारले बालीघरे समयदेखि सुरु भएको सिलाई पेशा अहिले नगद आम्दानीमा रूपान्तरण भइसकेको बताउँदै यसको अझ व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले पुर्खाहरूको सीपलाई अब युवाहरुले व्यवसायिकरुपमा अंगाल्नुपर्ने बेला आएको बताउँदै यो पेशा केवल जीविकोपार्जनको लागि मात्र नभएर आर्थिक रुपान्तरणको जगको रुपमा लिनुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी कपडा व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष राजु बराहाले सीप भए पनि त्यसको प्रमाणीकरण नहुँदा समस्या थपिएको बताए । उनले सिटिईभिटीले प्रदान गर्ने तालिम जस्तो ग्रेड वृद्धिको व्यवस्था गर्नुपर्ने बताए । उनले अहिलेको समय संस्थागत प्रमाणपत्र र औपचारिकतामै मात्रै चलेको बताउँदै अब सिलाई सीपलाई प्रविधिको सिपको मान्यता दिनुपर्ने बताए ।
कार्यक्रममा रेडियो जागरणका सञ्चालक सरोज गौतमले सीपलाई पछाडि राखेर आत्मनिर्भरता सम्भव नभएको बताए । नेपाल टेलरिङ व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष प्रताप परियारले अहिले संघसंस्था खोल्ने चलन बढेको तर उद्देश्यअनुसारको काम नगर्दा समस्या उत्पन्न भएको बताए ।
कार्यक्रममा नेपाल टेलरिङ व्यवसायी महासंघका प्रदेश संयोजक राजु देवान, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका वरिष्ठ उद्योग अधिकृत मोहन परियार, सैनामैना कपडा तथा सिलाई व्यवसायी समितिका अध्यक्ष सन्तोष परियारलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा लामो समयदेखि सिलाई पेशामा आवद्ध भई संस्थालाई योगदान दिएका व्यवसायीहरु मिलन गौतम, एकादशी गौतम, कृष्ण नेपाली, पिमकला दर्जी, खक बहादुर दमाई र बाबुराम परियारलगायतलाई सम्मान गरिएको थियो । त्यस्तैगरी घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ उद्योग अधिकृत मोहन परियारलाई समेत सम्मान गरिएको थियो ।
प्रथम रुपन्देही भेलाबाट जनक छिनालको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन गरिएको छ । जसको उपाध्यक्षमा सन्दीप परियार, महिला उपाध्यक्षमा धनिकला बिरकट्टा, कोषाध्यक्षमा टंक कोईराला, सचिवमा आकाश दर्नाल चयन भएका छन् ।
त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा रजनी नेपाली, नरेन्द्र परियार, निर्मला विक, पुजा जिसी र प्रकाश दर्नाल चयन भएका छन् । अन्य ३ सदस्यहरुलाई संस्थाले आगामी बैठकमा मनोनित गर्ने गरी नेतृत्व चयन भएको हो । भेलाका संयोजक जनक छिनालको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शम्भु राईको स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन पत्रकार अम्बिका परियारले गरेकी थिईन् ।