
बुटवल- बुटवल उपमहानगरपालिकाले ‘मेयर युवा रोजगार प्रवर्द्धन’ कार्यक्रम अन्तरगत युवाहरूका लागि एसी, फ्रिज रिपेयरिङ्ग तथा मेन्टेनेन्स सम्बन्धी आधारभूत तालिम तथा अडियो, भिडियोग्राफी र ड्रोन सम्बन्धी आधारभूत तालिम मंगलबारदेखि सञ्चालन गरेको छ । नगरका युवाहरूलाई रोजगारीमा जोड्ने उद्देश्यले तालिमको सुरुवात गरिएको हो ।
तालिमको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले एक समारोहका बिच उद्घाटन गरेका हुन् । उनले रोजगार हुने गरी तालिमबाट सिप सिक्नुपर्नेमा जोड दिए । उनले तालिम दिएपछि रोजगारको वातावरण बनाउने कार्यमा लाग्ने बताए । नगरप्रमुख पाण्डेयले तालिम गर्ने त्यसपछि रोजगारीमा जोडिने वातावरण मिलाउन समेत श्रम शाखालाई निर्देशन दिए । उ
पमहानगरले रोजगार सिर्जनाका लागि आगामी महिना रोजगार मेला आयोजना गर्न लागेको जानकारी गराए । उनले रोजगार मेलामा रोजगारदाता कम्पनी र उपमहानगरले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिममा सहभागी व्यक्तिहरूलाई एकै ठाउँ सहभागी गराएर दुवै पक्षलाई श्रम र रोजगारको अवसर सिर्जना गरिने बताए ।
यस्तै कार्यक्रममा बुटवल उपमहानगरकी उपप्रमुख सावित्रीदेवी अर्यालले बुटवलभित्र रहेका युवाहरूलाई सकेसम्म रोजगार तथा स्वरोजगार बनाउने योजना अनुसार ठुला धनराशि लगानी गरेर सीपमूलक तालिमहरू सञ्चालन गरिएको जानकारी दिइन् ।
उपमहानगरले सञ्चालन गरेको एसी, फ्रिज रिपेयरिङ्ग तथा मेन्टेनेन्स सम्बन्धी आधारभूत तालिममा २० जना युवाहरू सहभागी रहेका छन् । एक महिनासम्म सञ्चालन हुने उक्त तालिमका लागि यसअघि नै आवेदन आह्वान गरी अन्तरवार्ता मार्फत छनोट गरिएको थियो ।
यसै गरी अडियो, भिडियोग्राफी तथा ड्रोन सम्बन्धी आधारभूत तालिम ३० युवा युवाहरू छनोट भएका छन् । ३० दिनसम्म सञ्चालन हुने उक्त तालिममा पनि आवेदन आह्वान गरी अन्तरवार्ता मार्फत छनोट गरिएको बुटवल उपमहानगरका श्रम तथा रोजगार शाखा प्रमुख अरविन्द पाण्डेयले जानकारी दिए ।