बुटवल – जेठको ३० गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित चलचित्र ‘महाभोज’ को मंगलबार राती बुटवलमा प्रिमियर गरिएको छ । बुटवल सिंह कम्प्लेक्स स्थित फ्रेण्डस हलमा प्रिमिय साे गरिएको हो । सहकारी पीडितको कथालाई प्रस्तुत गरेको महाभोज बुटवलका सहकारी पीडितहरूले कलाकारहरूसँगै बसेर हेरेका हुन् ।
प्रिमियरमा प्रमुख कलाकार आर्यन सिग्देल, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक राउत, निर्माता हिमाल कडरिया उपस्थित थिए । सुप्रिम सहकारीबाट पीडित ५० भन्दा बढी सहकारी पीडितहरूले चलचित्र हेरेपछि आफ्नै कथा बोलेको प्रतिक्रिया दिए ।
चलचित्रमा देखाइएजस्तै अवस्था सहकारी पीडितहरूको कथा रहेको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बताए । ‘सहकारी पीडित ७२ लाख भन्दा बढी छन्, ८४ को निर्वाचनमा जनताले देखाउनेछन्, जुन कुरा चलचित्रले पनि सङ्केत गरेको छ’ उनले भने । उनले बुटवलमा सहकारी पीडितहरूले गरेको आन्दोलनका क्लिपसहरु पनि राखेको भए अझै उत्तम हुने सुझाव दिए ।
सामाजिक कथामा आधारित चलचित्र भएकाले कलाकारहरूले बिषयबस्तुलाई न्याय दिलाउने गरी अभिनय गरेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए । उनले सहकारीसँगै सहरिया बुहारी र गाउँले सासूको दृश्य र राजनीतिक दुरुपयोगको कथालाई उतारेको बताए । सामाजिक परिवेशको सशक्त चलचित्रका रूपमा रहने उनको विश्वास छ । सहकारी पीडितहरूले आफूहरूले अहिलेसम्म न्याय नपाएको बताउँदै चलचित्रमा जस्तै सरकारले न्याय दिलाउन नसके विद्रोह हुनसक्ने आक्रोश समेत पोखेका थिए ।
चलचित्रका निर्देशक दिनेश राउतले बुटवलका दर्शकहरूको प्रतिक्रियाले उत्साही बनाएको बताए । उनले चलचित्रमा सहकारीको पैसा अपचलन एउटा प्रवृत्तिका रूपमा देखा परेकाले समाजको कथालाई उतारेको बताए । यस्तै नायक आर्यन सिग्देलले दर्शकहरूले आफूहरूको कथा नै देखाइएको प्रतिक्रिया आएकाले महाभोजमा दर्शकको साथ पाउने अपेक्षा गरे ।
नायिका अञ्जना बराइलीले बुटवलका सहकारी पीडितहरूसँगै बसेर चलचित्र हेर्दा यसले सकारात्मक ऊर्जा दिएको बताईन्। ‘यो त हाम्रै कथा रहेछ भनेर प्रतिक्रिया दिनुभएको छ, आशा छ बुटवलका दर्शकहरूले साथ दिनुहुनेछ’ उनले भनिन । चलचित्रका अर्की नायिका मलिका महत, कलाकार बुद्धि तामाङले चलचित्रमा समाजकै कथा बोलेकाले साथ दिन आग्रह गरे ।
‘महाभोज’को काठमाडौँपछि पोखरा र त्यसपछि बुटवलमा प्रिभ्यु शो गरिएको हो । विराटनगर र धरानमा पनि प्रिमियर समारोह गर्ने निर्माता हिमाल कडरियाले बताए ।