-1749712301.jpeg)
बुटवल - अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीका चाङ लागेको छ । अनियमितता, भ्रष्टाचार र बेथितिका विषयमा अख्तियारमा उजुरीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा चालू आर्थिक वर्ष ०८१/०८२ को वैशाख मसान्तसम्म एक हजार १०४ वटा उजुरी दर्ता भएको छ । गत वर्षको ४३४ सहित १५३८ वटा उजुरीको कारबाही गरिएको अख्तियार कार्यालयले जनाएको छ ।
यसमध्ये ११४२ वटा उजुरीको छानबिन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकारी गीता आचार्यले जानकारी दिइन् । उनका अनुसार ५ वटा स्ट्रिङ अपरेसन गरिएको हो । अख्तियार स्थानीय तहमा जनप्रतिनिधिको मनोमानी र विकास निर्माणमा अनियमितता गरेको भन्दै उजुरी आउने गरेको छ । अख्तियार बुटवल कार्यालयको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म एक हजार ४४ वटा उजुरी त स्थानीय तहका मात्रै हुन् । सङ्घीय सरकार अन्तर्गतका २ सय ७० र प्रदेश सरकारसँग सम्बन्धित २२४ वटा मात्रै उजुरी परेको सूचना अधिकारी आचार्यले बत्ताइन् । ‘धेरै स्थानीय तहकै उजुरी हाम्रोमा आएका छन्’ उनले भनिन ।
बुटवल कार्यालयले साबिक लुम्बिनी अञ्चलका ६ जिल्ला, प्युठान र दाङको संघ र प्रदेश सरकारका उजुरी हेर्ने गरेको छ । यसबाहेक दाङको स्थानीय तह र लुम्बिनी प्रदेशका अन्य सरकारको नेपालगन्ज कार्यालयले कार्यसम्पादन गर्ने गरेको छ ।
बुटवल कार्यालयबाट विस्तृत अनुसन्धान गरिएका १३३ वटा उजुरीमध्ये ७२ वटाको प्रतिवेदन केन्द्रीय कार्यालयमा पेस गरिएको कार्यालयले जनाएको छ । ‘हामीले मुद्दा दायर गर्ने, सुझाव लेखी पठाउने र तामेलीमा राख्ने काम गर्छौ’ सूचना अधिकारी आचार्यले भनिन् । उनले उजुरीको सङ्ख्या बढ्दै गएको बत्ताइन् । ‘हामीले सकभर उजुरी कम आओस् भन्ने गरी स्थानीय तहहरूसँग अन्तरक्रिया समेत गर्दै आएका छौँ’ उनले भनिन ।
अख्तियार बुटवल कार्यालयका अनुसार सबैभन्दा बढी उजुरी रुपन्देही जिल्लाको छ । अख्तियारको तथ्याङ्क अनुसार वैशाखसम्म रुपन्देही जिल्लामा ५ सय ३३ उजुरी परेकोमा ३९२ वटा मात्रै फर्स्यौट भएको छ । यस्तै दोस्रोमा कपिलवस्तु जिल्ला रहेको छ । कपिलवस्तुमा ३६७ उजुरीमध्ये २७५ फर्स्यौट भएको छ भने ९२ बाँकी छ ।
यसै गरी गुल्मीमा ११८ वटा उजुरीमध्ये ८५ वटा फर्स्यौट भएको छ भने २२ वटा बाँकी छ । यस्तै पाल्पामा ११२ मध्ये ८९ वटा उजुरी फर्स्यौट भएको छ । अर्घाखाँचीमा १०५ उजुरी परेकोमा ८८ वटाको फर्स्यौट भई १७ वटा बाँकी रहेको तथ्याङ्क छ । यसै गरी नवलपरासी पश्चिममा १७० उजुरी मध्ये १२१ फर्स्यौट भई ४९ बाँकी छ ।
नवलपरासी पूर्वमा ९१ उजुरीमध्ये ६३ फर्स्यौट भएकोमा २८ वटा उजुरी बाँकी रहेको तथ्याङ्क छ । यस्तै प्युठानमा २४ उजुरीमध्ये १५ वटा फर्स्यौट भएको र ९ वटा उजुरी अनुसन्धानमा रहेको सूचना अधिकारी आचार्यले बत्ताइन् ।
जिल्ला | उजुरी संख्या | फस्याैट उजुरी | बाँकी उजुरी | कैफीयत |
रुपन्देही | ५३३ | ३९२ | १४१ | |
गुल्मी | ११८ | ८५ | २२ | |
अर्घाखाँची | १०५ | ८८ | १७ | |
नवलपरासी पश्चिम | १७० | १२१ | ४९ | |
कपिलबस्तु | ३६७ | २७५ | ९२ | |
नवलपरासी पूर्व | ९१ | ६३ | २८ | |
दाङ्ग | १८ | १४ | ४ | संघ र प्रदेश सरकारमात्रै |
पाल्पा | ११२ | ८९ | २३ | |
प्यूठान | २४ | १५ | ९ |
दाङमा भने अख्तियार बुटवल कार्यालयले प्रदेश र संघ सरकारको मात्रै उजुरी हेर्ने भएकाले उजुरीको सङ्ख्या पनि कम देखिएको छ । दाङमा १८ वटा उजुरीमध्ये १४ वटा फर्स्यौट गरी ४ वटा मात्रै बाँकी रहेको तथ्याङ्क छ । अख्तियार बुटवल कार्यालय मातहतबाट कार्यसम्पादन भएकामध्ये केही स्ट्रिङ अपरेसनका घटनाहरू विशेष अदालतसम्म पुगेका छन् ।
विशेष गरी स्थानीय तहका शिक्षा, स्वास्थ्य, विकास निर्माणका कार्यमा मिलेमतो, नदीजन्य पदार्थको चोरी तस्करी, वनको काठ विक्री गरेको जस्ता विषयका उजुरी पर्ने गरेको छ । अख्तियारमा उजुरी पर्दैमा बेथिति भयो भनेर भन्न त नमिल्ला तर, यसले बेथिति मौलाएको सङ्केत भने प्रस्ट गरेको छ । - खस्याैली साप्ताहिकबाट