Lumbini Rise
ओली सरकार सञ्चारकर्मीमाथि मुद्दा चलाएर मुख थुन्न खाेज्दैछ : सुदर्शन बराल

 

बुटवल – नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले केपी ओली नेतृत्वको सरकारले अख्तियारको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र बुटवल नगर समितिले शुक्रवार बुटवलमा आयोजना गरेको सहिद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बरालले वर्तमान सरकारको गतिविधि ठिक नभएको बताएका हुन् ।

‘आफ्ना विरोधीहरू सखाप पार्ने गरी सरकारले संवैधानिक अङ्गहरूको दुरुपयोग गरेको छ’ बरालले भने –‘चाहे अख्तियार दुरुपयोग अनुसन्धान आयोग होस्, न्यायपालिका होस्, चाहे नेपाल प्रहरी नै किन नहोस्, विभिन्न संयन्त्रलाई विरोधी दल र नेता सक्ने गरी अख्तियारको दुरुपयोग गरिएको छ ।’

उनले प्रधानमन्त्री ओलीसँग थोरै मात्रै असहमति राख्नेहरूलाई पनि मुद्दा चलाउने काम भइरहेको बताए । लुम्बिनी प्रदेशका पूर्व मन्त्री समेत रहेका बरालले वर्तमान सरकारले सञ्चारकर्मीमाथि मुद्दा चलाएर मुख थुन्न खोजेको बताए । ‘स्वाभिमानी पत्रकारमाथि मुद्दा चलाउने, कानुनको डन्डा बर्साउने र देशमा झोलेहरू बनाउने प्रयत्न भइरहेको छ’ उनले भने । उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार सत्ताको चाकर र दलाल जन्माउने अभियानमा लागेको बताए ।

काँग्रेस एमालेका चिनिएका भ्रष्टहरूलाई सरकार जोगाएर विपक्षी दल र नेताहरूलाई प्रतिशोध सहित मुद्दा चलाएको उनको भनाई छ । नेता बरालले को नेतासँग प्रतिशोध साँधिएको भनेर नाम नलिए पनि पछिल्लो समय पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई अख्तियारले विशेष अदालतमा पेस गरेको मुद्रालाई लक्षित थियो । उनले एमालेले झोले अभियान चलाए पनि एमालेकै विवेक भएकाहरू झोले बन्न तयार नभएको बताए । ‘विवेक भएका एमालेहरूले झोले अभियानलाई रिजेक्ट गरे’ उनले भने । 

saman-2-1749819895.JPG


अध्यक्ष बरालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनमा काम गर्न थालेपछि अतालिएर काँग्रेस एमाले गठबन्धन बनेको समेत बताए । का काम भइरहेको छ, क्रान्तिकारीहरुविच एकताको जरुरी रहेको बताए । प्रधानमन्त्री ओली झोले अभियानलाई बढावा दिन, देशभरिका मानिसहरूको विवेक बेच्न लागि परेको बताए । 

माओवादी नेतृत्वको सरकारले सुशासनलाई रोक्न थालेपछि काँग्रेस एमालेले ‘काले–काले मिलेर खाउँ भाले’ भनेर सरकार बनाएको बताए । ‘कालाबजारी, माफियाहरूको रजगज तोडिएपछि काँग्रेस एमाले गठबन्धन बनेको हो’ उनले भने । ‘सुशासन ल्याउन होइन, भ्रष्टाचारीको संरक्षण गर्न सरकार लागिपरेको छ’ उनले भने –‘अब क्रान्तिकारीहरू एक ढिक्का हुनुपर्छ ।’

saman-1-1749819895.JPG


सहिद टिकाराम गौतम र गणेश ढकालको स्मृतिमा आयोजित स्मृति सभामा अध्यक्ष बरालले सहिदहरूले देखाएको क्रान्तिको बाटोलाई आफूहरूले भुल्न नहुने बताए । उनले तराईमधेश जागरण अभियान, मध्य पहाडी मार्गको अभियानले माओवादी फेरी जनताको बिचमा पुगेर सहिदहरूले देखाएको बाटोमा हिँडेको बताए । कार्यक्रममा अध्यक्ष बरालले सहिद गणेश ढकालका आमा प्रभालक्ष्मी ढकाल र सहिद टिकाराम गौतमकी आमा जमुना गौतमलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज सोनिया यादव, जिल्ला संयोजक निर्मल जिसी, सहिद परिवार समाज रुपन्देहीका अध्यक्ष शिव घिमिरे, सहिद परिवारका तर्फबाट प्रभालक्ष्मी ढकाल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भुसाल, उपाध्यक्ष सुप्रिया खनाल, सचिव तुल्सिराम न्यौपाने लगायतले बोलेका थिए । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update