Lumbini Rise
साइकल सौन्दर्य पुस्तकका लेखकसँग बुटवलमा अन्तरक्रिया 

बुटवल– लेखक तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताबका बारेमा बुटवलमा अन्तरक्रिया गरिएको छ । सोमबार बुटवलस्थित हिमालय बुक हाउसमा लेखकसँग हस्थाक्षर तथा अन्तरक्रिया गरिएको हो ।

छलफलमा लेखक श्रेष्ठले साईकल सौन्दर्यका विविध पाटाहरुलाई किताबमा उल्लेख गरेको बताउँदै किताब र साईकलका बारेमा सुझाव समेत संकलन गरे । 

नेपालको साइकल संस्कृति इतिहास, वर्तमान र भविश्यबारे साङ्गोपाङ्गो दस्तावेजीकरणको अभाव खडकिरहेको सन्दर्भमा श्रेष्ठको यस किताबले नयाँ खालका पाठकलाई आकर्षित गर्ने चर्चा गरिएको थियो ।

छलफलमा बुद्धजन्मस्थल लुम्बिनीमा साईकलमा भ्रमण गर्ने प्याकेज बनाउनुपर्ने, बुटवल बेथरी सडकखण्डको साईकल लेनको प्रयोग गर्नुपर्ने जस्ता बिषयमा ठोसकाम गर्नका लागि लेखक श्रेष्ठलाई सुझाव दिईएको थियो ।

साइकल साहित्य तथा अभियानबारे विभिन्न कोणबाट विमर्श गरिएको थियो । अन्तरक्रियामा बुटवलका साईक्लिस्ट, चिकित्सक,  साहित्यकार, पत्रकार लगायतको उपस्थिती रहेको हिमालय बुक हाउसका सञ्चालक माधव गौतमले जानकारी दिए । 

डिस्कोर्स पब्लिकेशनले प्रकाशन गरेको साइकल सौन्दर्य किताबले २५ अध्यायमा अटोएथ्नोग्राफ्रिक वर्णन विधिबाट मेचिदेखि महाकाली तथा तराईदेखि मिथकीय हिमालसम्मका नेपालका साइकल समुदायका सत्य कथाहरु समेटेको छ । लेखक श्रेष्ठको यो पाँचौं अनुसन्धान पुस्तक हो ।

यो पुस्तक नेपालको साइकल इतिहासिकतासँग जोडिएको छ । साइकल सौन्दर्य पुस्तकको जेठ ६ गते विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विमोचन गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update