Lumbini Rise
नारायणघाट बुटवल सडकखण्ड आजदेखि राति १० घण्टा बन्द गरिने

नवलपुर - पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्णरूपमा बन्द गरिने भएको छ ।

यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्णरुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ । 

आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार आजदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको हो । 

“निर्माणाधीन नारायणघाट–बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकाले सो स्थानमा बनेको नयाँ पुल सञ्चालनमा नआउने बेलासम्म रातिमा सडकमा यातायात सञ्चालन बन्द गर्ने निर्णय भएको छ”

उक्त सडक खण्डमा ठुला र मालवाहक सवारी साधन भने आजदेखि चौबिसै घण्टा सञ्चालन गर्न नदिने गरी रोक लगाइएको ढकालको भनाइ छ ।

ठुला र मालवाहक सवारी साधनलाई नारायणघाट बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै निर्देशक ढकालले साना सवारी साधनसमेत सडकको अवस्था हेरेरमात्रै दिउँसोमा यात्रा गर्न सुझाव दिए । 

चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा हिलोका कारण सवारी साधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।

त्यस्तै, विनयी खोलामा आउने बाढीले यहाँ निर्माण गरिएको डाइभर्सन बगाउँदा पटकपटक यातायात सञ्चालनमा अवरोध हुने गरेको छ । 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update