Lumbini Rise
उपभोक्ता अदालतको निर्णयका विरुद्ध देशभरका चिकित्सक आन्दोलित 

बुटवल –  देशभरका चिकित्सकहरू उपभोक्ता अदालतको निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशको अगुवाइमा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कालोपट्टि बाँधेर धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले चिकित्सकको मनोबल गिराउने गरी ल्याएको ऐन पुनरावलोकन गर्न र सरोकारवाला पक्षसँग छलफल गरेर नयाँ नीति तय गर्न माग गरिएको थियो । यदि माग पूरा नगरे थप चरणबद्ध आन्दोलन गर्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । संघका अध्यक्ष डा.कृष्ण खरेलले चिकित्सकको मनोबल गिराउने गरी ल्याइएको ऐन मान्य नहुने बताए ।

उनले चिकित्सकलाई दण्ड दिलाएर काम गर्न बाध्य पार्ने अवस्था सिर्जना नगर्न समेत सरकारलाई चेतावनी दिए । उक्त अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले चिकित्सकहरूलाई मानसिक तनावमा पार्ने गरी कार्यस्थलमा असहज वातावरण सिर्जना गरिएको आरोप लगाए ।

चिकित्सकहरूको आन्दोलनमा नागरिक समाजका तर्फबाट मानवअधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले ऐन नागरिक र स्वास्थ्यमैत्री नभएको बताए ।  उनले नेपालमा अहिले बाहिर गएर सेवा लिने अवस्था सृजना भएको बताए । उच्च अदालत बार एसोसिएसन बुटवलका अध्यक्ष गोविन्द मरासिनीले कानुनी त्रुटिले स्वास्थ्य सेवा क्षेत्र जोखिममा परेको उल्लेख गरे ।

चिकित्सकहरूको कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्ग बस्नेत, नेपाल औषधी व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, निजी अस्पताल समिति (अफिम) का अध्यक्ष रामप्रसाद खरेल, संघका उपाध्यक्ष डा.वर्षा थापा, संघका सचिव डा.प्रकाश बस्नेत लगायतले ऐक्यबद्धता जनाएका थिए ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update