
बुटवल– नवलपरासी उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ । दुई दिने संस्थागत भ्रमणमा निस्किएको नवलपरासीको टोलीलाई शुक्रवार बुटवल उद्योग वाणिज्य संघमा स्वागत गरिएको हो। त्यस क्रममा व्यवसायीका समस्या उठान गर्दै समाधानका लागि सामूहिक प्रयासमा जोड दिइएको छ ।
कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले बुटवलको औद्योगिक तथा व्यावसायिक विकासमा बुटवल उद्योग वाणिज्य संघको उल्लेखनीय योगदान गरेको बताए।
उनले बुटवल उद्योग वाणिज्य संघले अघि सारेको अवधारणा अनुसार मोतीपुर औद्योगिक क्षेत्र अगाडि बढेको जानकारी गराउँदै मोतीपुर औद्योगिक क्षेत्र निर्माण पश्चात् यस क्षेत्रको औद्योगिक विकास र उद्यमशीलता विकासले तीव्र गति लिने विश्वास व्यक्त गरे ।
नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बुटवल तथा आसपासका लगानीकर्ता उद्योगी व्यवसायीलाई परासीमा आएर उद्योग व्यवसाय गर्न आग्रह गरे । उनले उद्योगमा लगानी गर्न आउने लगानीकर्तालाई नवलपरासी उद्योग वाणिज्य संघले स्वागत सहित सहजीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गर्दै बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले औद्योगिक विकासमा भइरहेको अवरोध चिर्ने गरी व्यावसायिक संस्थाहरूले काम गर्नुपर्ने बताउँदै त्यसका लागि सबै संघको एकताबद्ध प्रयासमा जोड दिए ।
सीमा क्षेत्रका उद्योगी व्यवसायीका प्रमुख समस्या खुला सीमा भएको औँल्याउँदै खुला सीमा व्यवस्थापनमा जोड दिइएको बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्की र नवलपरासी उद्योग वाणिज्य संघका कार्यकारी सचिव रामशंकर कुर्मीले संघको स्थापना र त्यसयता संघबाट भए गरेका काम, विधानमा भएका व्यवस्था, संघमा सञ्चालित कार्यक्रमहरूको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा संघका पदाधिकारीहरू वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल सहित कार्यसमिति सदस्यहरू र नवलपरासी उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू सहभागी थिए ।