
बुटवल-बुटवल उपमहानगरपालिका–१२ स्थित योगीडाँडामा बुद्धकालीन भग्नावशेष फेला परेका छन् । बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले फेलापरेका भग्नावशेष बुद्धकालीन समयको भएका बताए ।
उनले योगीडाँडामा पुरानो घर, मन्दिर, सिलौटा, प्राचीन कुवा र इँटाहरू फेला परेको बताउँदै यो क्षेत्रको उत्खननको आवश्यकतामा जोड दिए ।
यसअघि पनि स्थानीयले गाईभैँसी चराउँदा त्यस क्षेत्रमा फेला परेका ऐतिहासिक वस्तु कतिपयले घरमासमेत लगेर राखेको बताइएको छ ।
वडाध्यक्ष आचार्यले चुरे पहाडको काखमा अलपत्र छरिएर रहेका ऐतिहासिक वस्तुको संरक्षणका लागि आफूहरूले पुरातìव विभागको ध्यानाकर्षण गराउने बताए।
उनका अनुसार योगीडाँडामा वर्सौंअघि फेला परेको एउटा बुद्धको मूर्ति लुम्बिनीको सङ्ग्रहालयमा राखिएको समेत बताए। चारपाला सामुदायिक वन क्षेत्रभित्रको योगीडाँडा क्षेत्र बुद्धकालीन सहर रहेको अनुमान गरिएको छ ।
वन समूहका अध्यक्ष जगतनाथ शर्माले चारपालाको वन क्षेत्रमा अहिले मात्रै नभएर धेरै पहिले पनि बुद्धकालीन भग्नावशेष फेला परेको बताउँदै यो क्षेत्र बुद्धकालीन सहरमध्ये एक रहेको इतिहासमा उल्लेख भएको दाबी गरे ।
उनले आफूहरूले वर्षौंदेखि यो क्षेत्रको संरक्षणका लागि पुरातत्व विभागको ध्यानाकर्षण गराएको बताउँदै अहिलेसम्म संरक्षण हुन नसकेको उल्लेख गरे।
चारपाला सामुदायिक वनले फेला परेका बुद्धकालीन ऐतिहासिक वस्तु खुला सङ्ग्रहालयको अवधारणा अनुसार ट्रस्ट लगाएर राखेको छ । बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले योगीडाँडा क्षेत्रमा फेला परेका ऐतिहासिक महìवका वस्तुको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै उक्त क्षेत्रको थप उत्खननका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताए।
यसैबिच लुम्बिनी बौद्ध विश्वविद्यालयमा आएको चिनियाँको अध्ययन टोलीलेसमेत योगीडाँडा क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।
टोलीले फेला परेका ऐतिहासिक वस्तु बुद्धकालीन समयको हुन सक्ने भएकाले यसको विस्तृत अध्ययन गरी संरक्षण गर्नुपर्ने बताएको वडाध्यक्ष आचार्यले जानकारी दिए।
वडाध्यक्ष शर्मा आचार्यले अहिले फेला परेका ऐतिहासिक वस्तु भोलिको पुस्ताका लागि अमूल्य निधि हुन सक्ने भएकाले तिनको संरक्षण गर्नुपर्ने र थप उत्खननको आवश्यकता औँल्याए ।
चारपाला सामुदायिक वनका अध्यक्ष शर्माले लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक वस्तुलाई सेड बनाएर संरक्षण गरेर राख्नका लागि केही रकम उपलब्ध गराएकाले यो वर्ष संरक्षणको काम हुने जानकारी दिए।
पदमपाणी प्राकृतिक चिकित्सालयका पूर्वअध्यक्ष रामप्रसाद भट्टराईले चारपालाको योगीडाँडा क्षेत्र र सैनामैनाको रानीबगिया वनकट्टा क्षेत्रमा धेरै पहिलेदेखि नै स्थानीयले भवनका पर्खाल, पुरानो कुँवा, इँटाका भाँडा फेलापर्दै आएको बताए।