
गुल्मी - गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र रेसुङ्गामा एक महिने साउने मेला सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला सुरु गरेको रेसुङ्गा संरक्षण समितिका महासचिव यज्ञप्रसाद पन्थीले बताए ।
एक महिनासम्म धार्मिक प्रवचनसँगै दैनिक पूजा हुने समितिले जनाएको छ । रेसुङ्गा पूजा गर्न तथा अवलोकनका लागि गुल्मीलगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्युठान, रुपन्देहीलगायतका नेपालका विभिन्न ठाउँबाट भक्तजन आउने गर्छन् ।
पोखरीमा नुहाउन तथा पूजा आज महिना भरी नै भिडभाड लाग्ने गर्दछ । रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता रहेको छ । मेलाअन्तर्गत साउन १ गते र साउने औँसी, एकादशीका दिन विशेष मेला लाग्ने गर्दछ ।
धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । रेसुङ्गामा साउन महिना बाहेक अन्य दिनहरूमा दैनिक पूजा हुने गर्दछ ।
रेसुङ्गामा पैदल मार्गमा आकर्षक सिँढी निर्माण गरिएको छ । जसले गर्दा पैदल यात्रा गर्न रमाइलो सहज छ । धार्मिक मेलामा विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनको उपस्थिति रहने गरेको छ ।
सिद्ध भूमि,तपो भूमि मर्हषि भूमि जहाँ धेरै ऋषि महर्षिहरूले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रही आएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋषि महर्षिहरूको तपस्या स्थल रेसुङ्गाको महत्त्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ ।