लुम्बिनी - पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले बुद्धजन्मस्थल लुम्बिनी स्थित पश्चिम प्लटमा थुक्छे छोइलिङ्ग गुम्बा(मोनाष्ट्री)को शिलान्यास गरेकी छन् ।
लुम्बिनी विकास कोषसँग सम्झौता गरि लिएको थुक्छे छोइलिङ्ग गुम्बा धर्मचक्र महाविहारले शुक्रबार पूर्व राष्ट्रपती भण्डारीको प्रमुख आतिथ्यतामा गुम्बाको शिलान्यास गराएको हो । लुम्बिनी गुरुयोजनाभित्रको पश्चिम खण्डको १४ नम्बरको प्लटमा गुम्बा निर्माण शुरु गरिएको हो ।
शिलान्यस समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपती भण्डारीले बुद्धजन्मस्थल लुम्बिनीबाट बुद्धको शिक्षा मार्फत शान्ति, अहिंसा र अध्यात्मको सन्देश फैलाउनुपर्ने बताइन ।
उनले लुम्बिनी क्रमिक रुपमा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बन्दै गएको बताउँदै लुम्बिनीबाटै शान्तिको सन्देश दिनुपर्नेमा जोड दिईन । उनले विश्वका विकसित र शक्तिशाली देशहरुमा अझै पनि गोलाबारुछ, हिंसा र तनावको अवस्था रहेको बताउँदै बुद्धको शिक्षाले शान्तिको मार्गमा हिडाउने बताईन ।
‘इशापूर्व ६२३मा लुम्बिनीमा जन्मिनुभएका बुद्धले शान्ति अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो, उहाँको शिक्षाले संसारभरका करोडौं मानिसहरुलाई प्रररित गरिरहेको छ’ पूर्व राष्ट्रपती भण्डारीले भनिन–‘तर आज पनि विकसित र शक्तिशाली देशहरुको टकरावका कारण सर्वसाधरणहरु गोलाबारुद्ध, हिंसा र तनावपूर्ण जीवन जीउनुपर्ने अवस्था कायमै छ ।’
पूर्व राष्ट्रपती भण्डारीले लुम्बिनीको धार्मिक र साँस्कृतिक पहिचान बोकेको महान सम्पदाको संरक्षण, प्रवद्र्धन र प्रचार प्रसारका लागि समेत अपिल गरिन । उनले लुम्बिनीको धार्मिक, साँस्कृतिक, आध्यात्मिक र ऐतिहासिक महत्व रहेको भूमिका पाईला टेक्दा आनन्द प्राप्त भएको बताउँदै थुक्छे छोईलिङ्ग गुम्बाले बुद्धको सन्देश विश्वभर फैलाउनेमा विश्वास व्यक्त गरिन ।
गुम्बाले लुम्बिनीको धार्मिक तथा आध्यात्मिक गरिमा बढाउँदै संसारभरिका बौद्धमार्गी र पर्यटकहरुलाई आर्कषित गर्नेमा पूर्वराष्ट्रपती भण्डारीको जोड थियो । उनले लुम्बिनीमा बौद्ध विश्व विद्यालय समेत रहेकाले लुम्बिनी बौद्ध शिक्षा र दर्शनको प्रमुख केन्द्रका रुपमा विकास गर्नुपर्ने बताईन । ‘विश्वविद्यालय मार्फत विश्वभर शान्ति र अध्यात्मको सन्देश फैलाउन सकिन्छ’ उनले भनिन ।
त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुम्बाहरुले बुद्धका उपदेशहरुलाई विश्वभर फैलाउन महत्वपूर्ण योगदान गर्ने बताए । उनले शिलान्यास गरिएको गुम्बालाई समयमै सम्पन्न गर्न सुझाव दिदै बुद्धको सन्देशलाई विश्वभर फैलाउने कार्यम गुम्बाको भूमिका हुने विश्वास व्यक्त गरे ।
उनले लुम्बिनी गुरुयोजना भित्र कतिपयले जग्गा ओगट्ने तर गुम्बाको काम नगर्ने गरेको पाइएकोले त्यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न आग्रह गरे । यस्तै रुपन्देही क्षेत्र न. ५ का प्रतिनिसधा सदस्य वासुदेव घिमिरेले भगवान बुद्धको ज्ञान, करुणा, अहिंसा र शान्तिको सन्देश विश्वभर फैलाउन भूमिका खेल्ने बताए ।
उनले लुम्बिनी विश्वभरका शान्तिप्रेमी र बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले बुद्धका सन्देशरुलाई विश्वव्यापी बनाउँदै यहाँको विकास गर्नुपर्ने बताए । उनले आफू विश्वसम्पदा स्थल लुम्बिनी क्षेत्रको जनप्रतिनिधि समेत भएकाले स्थानीयहरुलाई लुम्बिनी विकास कोषले जोड्न नसकेको बताए । उनले लुम्बिनी विकास कोष ऐनले स्थानीय जनप्रतिनिधिलाई चन्न नसकेकाले आगामि दिनमा त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए ।
यसैगरी लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले केञ्जो टांगेले बनाएको लुम्बिनी गुरुयोजना अनुसार नै ४२ वटा प्लटहरुमा विभिन्न बौद्ध सम्प्रदायहरुका लागि गुम्बाहरु बनाउन दिइएको बताए । उनले सोही गुरुयोजना अनुसार नै थुक्छे छोईलिङ्ग गुम्बाको शिलान्यास भएको बताए । उनले गुरुयोजना सम्पन्न हुन लागिरहेको अवस्थामा कतिपयले जग्गा ओगटेर विदेशमा चन्दा संकलन समेत गर्ने गरेको बताउँदै अब त्यसरी जग्गा मात्रै ओगट्ने परिपाटीको अन्त्य गर्न थालेको बताए ।
शिलान्यास समारोहमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, थुक्छे छोइलिङ्ग गुम्बा धर्मचक्र महाविहारका अध्यक्ष छिरिङ जाङबू तामाङ लगायतले बोलेका थिए । हिमाली बौद्ध गुम्बाको आकारमा तीन वर्षभित्रमा सम्पन्न गर्ने योजना अनुसार शिलान्यास गरिएको महासचिव बाबुराजा श्रेष्ठले बताए ।
शिलान्यास समारोहमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्ण गोपाल श्रेष्ठ, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, होटल व्यवसायी संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।

-1784986351.jpg)