
काठमाण्डौ – श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ।सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो।
यो पहिलेको भन्दा दुई हजार दुई सय ५० रुपैयाँले बढी हो । यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो।
नयाँ पारिश्रमिक हिजो साउन १ गतेदेखि नै लागू भएको सरकारले जनाएको छ। चिया बगानको हकमा भने सरोकार पक्षसँग थप छलफल गरेर पछि निर्धारण हुनेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले औद्योगिक सम्बन्धलाई सुमधुर बनाउन तीनवटै पक्षले लचकता कायम गर्दै सहमतिको आधारमा न्यूनतम तलब निर्धारण गरिएको बताए।
श्रम ऐन–२०७४ को अनुसार हरेक दुई आर्थिक वर्षमा अनिवार्य रुपमा नयाँ न्यूनतम तलब निर्धारण हुनुपर्छ।