Lumbini Rise
घर घरमा बुद्ध शिक्षा पु¥याउन बौद्ध विश्वविद्यालयको अभियान



लुम्बिनी - लुम्बिनी बौद्ध विश्वविद्यालयले घर—घरमा बुद्ध शिक्षा पु¥याउन अभियानको थालनी गरेको छ । समाजको सकारात्मक रुपान्तरणका लागि विश्वविद्यालयको बौद्ध अध्ययन संकायले “विद्यालयमा बौद्ध शिक्षा” अभियानको थालनी गरेको हो । 

अभियानअन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले आज लुम्बिनीमा स्थानीय जनप्रतिनिधिसँग विद्यालयमा बौद्ध शिक्षा विषयक अन्तरक्रिया गरेको छ ।


कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले समाजमा विकृती विसंगतिको अन्त्य गरी नैतिकवान नागरिक तयार गर्न बुद्ध शिक्षा अनिवार्य गर्नुपर्ने बताए । “हामीले विश्वविद्यालयमा मात्रै अध्ययन अध्यापन गर्ने गराउने होइन, हरेक घर घरमा बुद्ध शिक्षा पु¥याउन खोजिरहेका छौँ, यसमा स्थानीय तहले सहयोग गर्नुपर्छ”, उनले भने ।

बुद्धको शिक्षा जीवन रुपान्तरण गर्ने माध्यम भएको बताउँदै उनले  यसलाई सबै नागरिकले अनुसरण गर्ने गरी कार्यक्रम बनाउन स्थानीय पालिकाका जनप्रतिनिधिसँग आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुद्ध शिक्षाको अध्ययन अध्यापन र अनुसरण गर्ने गरी उपमहानगरले कार्यक्रम बनाउने बताइन् । लुम्बिनीको उदारहरण दिँदै उनले भनिन् “हामीसँग हिरा छ तर हामी के खोजिरहेको छौं, हामीलाई थाहा छैन ।”, बौद्ध विश्वविद्यालय यस क्षेत्रको गहना भएको उल्लेख गर्दै उपप्रमुख अर्यालले यसलाई संरक्षण सबैको दायित्व भएकोमा जोड दिइन् ।


कायक्रममा बौद्ध शिक्षाको महत्व र पाठ्यक्रमबारे प्रस्तुती दिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले आधारभूत तहका विद्यार्थीलाई मध्येनजर गरी कक्षा ६ देखि ८ सम्मका लागि पाठ्यक्रम बनाइएको जानकारी गराए । उनले लुम्बिनी क्षेत्रका सबै स्थानीय तहले अपनत्व लिएर यो अभियानलाई अघि बढाउनुपर्ने बताए । 

डा. शाक्यले बौद्ध शिक्षा अभियान अन्तर्गत सामुदायिक विद्यालयका प्रधानाध्यापकसँगको अन्तरक्रिया पश्चात आज स्थानीय तहका प्रमुख जनप्रतिनिधि र शिक्षा शाखाका प्रतिनिधिसँग छलफल गरिएको बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख डा. नीर बहादुर गुरुङले बुद्ध शिक्षाका माध्यमबाट लुम्बिनीको महत्व समेत उजागर हुने भएकाले यसतर्फ ध्यान दिन स्थानीय तहलाई सुझाए ।


कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले बुद्ध जन्म स्थलसँग जोडिएको पालिका भएकाले अब बन्ने स्थानीय पाठ्यक्रममा बुद्ध शिक्षालाई प्राथमिकता दिने प्रतिवद्धता जनाइन् ।


कार्यक्रममा सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवाली, सम्मरीमाई गाउँपालिकाका रामदास गौड, लुम्बिनी साँस्कृतिक नगरपालिकाका लक्ष्मी पोखरेल र तिलोत्तमा नगरपालिकाका भूपति ज्ञवाली लगायले पालिकाले छुट्टै निति बनाएर बुद्ध शिक्षालाई समेट्नुपर्ने बताए । अभियान अन्तर्गत विभिन्न जिल्लामा चरणबद्ध रुपमा बैठक, छलफल र अन्तरक्रिया कार्यक्रम गरिने बौद्ध अध्ययन संकायले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update