Lumbini Rise
बुटवल नारायणगढ सडक विस्तारको काम सुस्त, फेरी एक बर्ष म्याद थपिदैँ


बुटवल – बुटवल–नारायणघाट सडक विस्तार समयमा सम्पन्न नभएपछि फेरी एक बर्ष थप हुने गरि तयारी भइरहेको छ । निर्माण कम्पनीले निर्माणका लागि समय अपुग भएको भन्दै २ बर्षका लागि समय माग गरेको भएपनि सडक विभागले एक बर्ष म्याद थप्ने गरी तयारी गरेको छ ।

निर्माण कम्पनीले अनुरोध अनुसार एक वर्षमा काम सक्ने गरी म्याद थप्ने गरी तयारी भइरहेको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले बताए । यदि अहिले पनि म्याद थप भएमा यो चौथो पटक हुनेछ । तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ । हालसम्म आयोजनाको भौतिक प्रगति ६९ दशमलव तीन प्रतिशत मात्रै भएको छ । 

दाउन्नेमा सडक ढलानसहित चोरमारामा कालोपत्र, पुल निर्माण, दुई लेन सडक भएको ठाउँमा चार लेन बनाउने, डिभाइडर बनाउने काम भइरहेको छ । सडक विस्तारका लागि अहिले २७२ जना श्रमिक काम गरिरहेका छन् ।

बुटवल–नारायणघाट– सडकको ११४ किलोमिटरमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर छ । पूर्वी खण्डमा पर्ने सडकमध्ये डेढ किलोमिटर जति क्षेत्रफल पुलले ओगटेको छ बाँकी रहेको करिब सात किलोमिटर सडक पनि चाँडै कालोपत्र हुन्छ । 

निर्माण कम्पनीले नेपाल सरकारसँग २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरी ४२ महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको थियो । दुई खण्डमा विभाजन गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार योजनाको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख छ ।

बुटवल-नारायणघाट सडक योजना पूर्वी खण्ड गैँडाकोट–दाउन्ने ६५ किलोमिटरको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार एवं पश्चिम खण्ड दाउन्ने–बुटवल ४९ किलोमिटरको लागत सात अर्ब ८६ करोड ३४ लाख छ । एसियाली विकास बैंक (एडिबी)को ८५ प्रतिशत ऋण सहयोगमा अघि बढाइएको आयोजनामा बाँकी रकम नेपाल सरकारको हो  ।

 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update