लुम्बिनी - बुटवलको नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले आईतबार बुद्धजन्मस्थल लुम्बिनीमा कक्षा १२ का विद्यार्थीको विदाई तथा शूभकामना कार्यक्रम गरेको छ । लुम्बिनीको प्रचार प्रसार र गौतबुद्धको उपदेशका बारेमा विद्यार्थीहरुलाई अनुभूती गराउने उदेश्यका साथ पहिलो पटक लुम्बिनीमा विद्यार्थीहरुको विदाई कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो सहित शूभकामना दिएर विदाई गरेका हुन् । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शान्ति, अहिंसा र सदभावका प्रतिकका रुपमा चिनिने महामानव गौतमबुद्धको जन्मस्थलमा गरिएको विदाई कार्यक्रमले लुम्बिनीको प्रचारमा सकरात्मक सन्देश गएको बताए । उनले सामुदायिक विद्यालयमा नविन स्कूलले गुणस्तरीय शिक्षा दिइरहेको बताउँदै विद्यालयको सुखदुखमा उपमहानगर साथमै रहने प्रतिबद्धता जनाए ।
यस्तै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले विद्यालयहरुले पहिलो पटक बुद्धजन्मस्थलमा विदाई कार्यक्रम गरेको बताउँदै यसले बुद्ध र लुम्बिनीको प्रचारमा निकै ठूलो टेवा पुग्ने बताए । उनले गौतमबुद्धले मानव कल्याण, शान्ति, अहिंसा र एकताका निम्ति दिएको सन्देश विद्यार्थीहरुले समेत अनुशरण गर्नुपर्नेमा जोड दिए ।
यस्तै शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले नविन नेपालकै उत्कृष्ट विद्यालयमध्येमा पर्ने बताउँदै आगामि दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न शूभकामना दिए । उनले कक्षा १२ पछि अन्यत्र जादा पनि विद्यालयबाट प्राप्त गरेको शिक्षालाई व्यवहारमा उतार्न आग्रह गरे ।
लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्रमा कक्षा ११ र १२ का २ हजार बढि विद्यार्थीहरुको सहभागितामा विदाई समारोह गरिएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले जानकारी दिए । उनले आफूहरुले विद्यालयमै कार्यक्रम गर्न सक्ने भएपनि विद्यार्थीहरुलाई विश्वसम्पदा स्थल लुम्बिनीबारे जानकारी गराउने उदेश्यका साथ लुम्बिनीमा गरिएको बताए ।
कक्षा ११ शिक्ष, विज्ञान, कानुन, व्यवस्थापन र सिभिल ईञ्जिनयरिङले संयुक्त रुपमा गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न। ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनाल, अध्यक्षता कक्षा ११ का विद्यार्थी सुवास पौडेल, विद्यार्थीहरु एलिजा रेग्मी, हिरा सुनार लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा समेत प्रस्तुत गरिएको थियो । नविनमा २०८१ सालमा कक्षा ११ र १२ मा २ हजार ७९ विद्यार्थी अध्ययनरत छन् । प्रि–नर्सरीदेखि कक्षा १२ सम्म यहाँ ४ हजार ७०२ जना विद्यार्थीहरु अध्ययनरत छन् ।