
बुटवल- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देही लुम्बिनीले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेका विभिन्न रचनात्मक कार्यक्रमहरू समापन गरेको छ । अटो इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट नाम कमाएको संस्थाले साउन ४ गतेबाट स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सहित सुरु गरेको स्थापना दिवसका कार्यक्रम बिहीबार समापन गरेको हो ।
विहिबार समापन कार्यक्रममा बोल्दै बुटवल २ का वडा अध्यक्ष सुनिल शाक्यले बुटवलको पहिचान अटो भिलेजले बनाएको बताउँदै अझै गुणस्तरीय कार्य गर्दै यो क्रमलाई निरन्तरता दिन आग्रह गरे । उनले वडा तथा नगरको बजेटबाट यहाँका जनशक्तिको क्षमता अभिवृद्धि गर्ने लगायतका विभिन्न कार्यहरूको लागि वडाले बजेट विनियोजन गरेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष खड्ग बहादुर गौतमले स्थापना दिवस भन्नु संस्थाको जन्मदिन भएकोले स्थापनाको उद्देश्य अनुसारका गतिविधिमा संस्थालाई चलायमान बनाउन आग्रह गरे । नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष जर्नादन गैरेले देशभर नै व्यवसायीलाई सङ्गठित गर्दै बुटवलले नेतृत्व लिने गरी कामहरू भइरहेको बताउँदै महासङ्घको भवन बुटवलमा रहनु महत्त्वपूर्ण कुरा रहेको उल्लेख गरे ।
संस्थाका निवर्तमान अध्यक्ष तथा नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घका सचिव तुल्सिराम न्यौपानेले संस्थाको गतिशीलताले व्यवसायीहरूका समस्या समाधानमा उत्प्रेरित भएको उल्लेख गरे । संस्थाका अध्यक्ष प्रेम गौचनले साउन ६ गते वृक्षारोपण, ९ गते ब्याडमिन्टन तथा १९ गते फुटसल प्रतियोगिता सञ्चालन गरेको बताउँदै मैनाबगर अटो भिलेजलाई सौन्दर्यीकरण लगायतका कामहरू भइरहेको दाबी गरे ।
सो अवसरमा स्थापना दिवसमा भएका प्रतियोगिताका विजेता तथा उपबिजेतालाई पुरस्कार प्रदान गर्नुका साथै कार्यक्रम संयोजकहरूलाई सम्मान समेत गरिएको थियो । उद्योग उपाध्यक्ष ध्रुवराज भुसालको स्वागत तथा महासचिव पुनीत पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।