
बुटवल–मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था भैरहवाको रकम हिनामिना गरी फरार सहकारीका अध्यक्ष अशोक केसीलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित सहकारीका अध्यक्ष केसीलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
अध्यक्ष केसी समेतले उक्त सहकारीका शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना गरेको आरोप छ । फरार रहेका दोलखा मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय अध्यक्ष केसीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएपश्चात बुधवार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी भैरहवा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले बताए ।
सहकारीका शेयर धनी तथा बचतकर्ता रकम हिनामिना भएपछि प्रहरीले सहकारी ठगी तथा ठगी सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो । रुपन्देही सिद्धार्थनगर नगरपालिकाका धनमन थारु समेतको जाहेरीले प्रहरीले २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । रुपन्देही प्रहरीले गत बैशाख ३० गते अदालतमा मुद्दा दायर गरेको थियो ।