-1755269647.jpg)
लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा नियमित विद्युत आपूर्तिको माग गर्दै बौद्ध धर्म संरक्षण समितिले मन्त्री गुहारेको छ । लुम्बिनी विकास गुरुयोजना क्षेत्रभित्र नियमित विद्युत् आपूर्ति नहुँदा निकै कष्टकर भइरहेको भन्दै ऊर्जामन्त्री दीपक खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई ज्ञापनपत्र बुझाइएका हुन् ।
समितिका सल्लाहकार राजकीय बुद्ध विहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्मको नेतृत्वमा लुम्बिनीबाट गएको १२ सदस्सीय भिक्षु–भिक्षुणीको टोलीले नियमित विद्युत् आपूर्तिको व्यवस्था गरिदिन आग्रह गर्दै विहिबार मन्त्रालयको ज्ञापनपत्र बुझाएका हुन् । टोलीले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई ज्ञापन–पत्र बुझाउँदै नियमित विद्युत व्यवस्थाको माग गरेको थियो ।
ऊर्जामन्त्री खड्काले छिट्टै समस्या समाधान गरिने प्रतिबद्धता जनाएको टोली नेता भिक्षु धम्मले बताए । लुम्बिनी गुरुयोजनाभित्र बिजुली अनियमित हुँदा भिक्षु–भिक्षुणीको दैनिकी, पूजापाठ र ध्यान गर्न निकै समस्या भएकाले बाध्य भएर काठमाडौं पुगेर ज्ञापनपत्र दिनुपरेको लुम्बिनी बुद्ध धर्म संरक्षण समितिले जनाएको छ ।
लुम्बिनी कोषले आफैं टेन्डर गरेर गुरुयोजनाभित्र बिजुलीका तार तान्ने र उपकरण राखेकाले त्यहाँबाट आउने समस्याका बारेमा विद्युत् प्राधिकरण पन्छिने गरेको छ । कोषले २९ करोड लागतमा आफैं विद्युतीकरण गरेको छ ।