
पाल्पा - पाल्पामा सहकारीको रकम हिनामिना गरेको आरोपमा व्यवस्थापक पक्राउ परेका छन् । रम्भा गाउँपालिका–४ हुमिन रहेको लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोमपमा व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेका हुन् ।
बम्रेललाई साउन २६ गते आफ्नै हुमिन घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवनकुमार भट्टराईले जानकारी दिए । सहकारी संस्थाको करिब दुई करोड ८७ लाख ५७ हजार ठगी आरोपमा व्यवस्थापक बम्रेललाई पक्राउ गरिएको प्रहरी प्रमुख भट्टराईले बताए ।
सहकारी संस्थामा फर्जी कर्जादाता तयार गरी रकम अपचलन गरेको आरोपसहित सहकारी संस्थाका अध्यक्ष सुवी विकले दिएको उजुरीका आधारमा बम्रेललाई पक्राउ गरिएको हो ।
२०८१ माघमा अध्यक्षमा निर्वाचित भएकी विकले रकम लगानीका विषयमा सोधपुध गरेपछि मात्र सहकारीका सञ्चालक समितिलाई थाहै नदिई रकम अपचलन गरेको थाहा पाएको बताइन् । सोही अनुसार रकम असुलीका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।
यस सहकारी संस्थामा रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकाका नागरिकहरुले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् । विभिन्न स्थानमा रहेको सेवा केन्द्रबाट सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएको थियो ।
करिब एक हजार बचतकर्ताको पाँच करोड र राष्ट्रिय सहकारी बैँकको सहुलियतको झण्डै एक करोड रकम फिर्ता गर्न बाँकी रहेको संस्थाका पदाधिकारीले बताएका छन् । सहकारी संस्थाको रकम अपचलन भएको हल्लाचलेपछि बचतकर्ताले बचत रकम फिर्ता गर्न सञ्चालक समितिलाई दवाव दिँदै आएका छन् ।
यस सहकारी संस्थामा झण्डै एक हजार सेयर सदस्य रहेका छन् । पक्राउ परेका बम्रेल २०६४ सालदेखि सहकारी संस्थाको संस्थापक अध्यक्ष र पछि कार्यकारी व्यवस्थापक भएका थिए ।