
काठमाडौँ - भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय पुजाराले आइतबार सबै प्रकारका क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।
पुजाराले लेखेका छन् भारतीय जर्सी लगाउने, राष्ट्रिय गान गाउने र मैदानमा पाइला टेक्दा हरेक पटक आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने ( यसलाई शब्दमा व्यक्त गर्न गाह्रो छ ।
तर भनिन्छ, सबै राम्रा कुराहरूको अन्त्य हुन्छ र मैले सबै प्रकारका भारतीय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु ।२०१० मा भारतीय क्रिकेट टोलीमा डेब्यू गरेका चेतेश्वर पुजाराले १०३ टेस्ट खेलमा ७१९५ रन बनाएका छन्, जसमा १९ शतक र ३५ अर्धशतक समावेश छन् ।
उनको व्यक्तिगत उत्कृष्ट स्कोर २०६ अविजित रहेको छ ।गुजरातको राजकोटमा जन्मिएका शान्त र कोमल चेतेश्वरका बुबा र प्रशिक्षक अरविन्द पुजारा पूर्व रणजी ट्रफी खेलाडी हुन् ।सुरुदेखि नै, चेतेश्वर आफ्नो लामो इनिङ र धैर्यका लागि परिचित छन् । पुजाराले अण्डर१४ मा इङ्गल्याण्ड विरुद्ध तेहेरो शतक र अण्डर१९ मा दोहोरो शतक बनाएका थिए ।
उनले डेल स्टेन, भेरोन फिलान्डर, मोर्ने मोर्केल र ज्याक कालिस जस्ता बलरहरूको सामना गरेर टेस्ट क्रिकेटमा अलग छबि बनाएका थिए ।२०१८ १९ मा भारतले अष्ट्रेलियामा ४ टेस्ट शृङ्खला जित्यो ।
यस ऐतिहासिक जितमा पुजाराले १२५८ बल खेले र ३ शतक बनाए र उनी म्यान अफ द सिरिज बनेका थिए । २०२० पछि, चेतेश्वर पुजाराको खराब फर्म सुरु भयो र २०२० देखि २०२३ सम्म उनले केवल एक शतक बनाउन सके ।
यस अवधिमा उनको औसत ३० भन्दा कम थियो ।पुजाराले आफ्नो अन्तिम टेस्ट खेल जुन २०२३ मा अष्ट्रेलिया विरुद्ध विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा खेलेका थिए । त्यसपछि उनी टिममा परेका थिएनन् ।