
बुटवल –राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए ।
बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
शिक्षक महासंघ भन्छ - परीक्षामा सामेल नहुनु
निजामती कर्मचारीलाई राखेर भएपनि परीक्षा गर्ने बताएपनि यता नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षाका कुनै पनि प्रक्रियामा सहभागी नहुन निर्देशन जारी गरेको छ । मंगलबार बसेको महासंघको बैठकले सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई परीक्षामा सामेल नहुन निर्देशन दिएको छ ।
यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा केन्द्र परेका विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीले धम्की दिएर परीक्षाको प्रक्रियामा सामेल हुन दबाब दिएकोमा महासंघले विरोध जनाएको छ।
ुविगत २१ दिनदेखि काठमाडौंमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक –कर्मचारी मैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौं ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।