Lumbini Rise
क्याननमा अभिभावक अन्तरक्रिया तथा परम्परागत सामाग्री प्रदर्शन 

बुटवल - क्यानन मावि बुटवलले बुधबार अभिभावक अन्तरक्रिया तथा प्राथमिक तहका विद्यार्थीहरुको परम्परागत सामाग्री प्रदर्शन कार्यक्रम गरेको छ । क्याननले विद्यालयको दीगो शैक्षिक गुणस्तर बृद्धि गर्न अभिभावकहरुको सुझाव संकलन गर्ने र विद्यार्थीहरुका लागि विद्यालयले प्रदान गरेका अतिरिक्त सिकाईका बारेमा छलफल गर्न अभिभावक अन्तरक्रिया गरेको जनाइएको छ ।

विद्यालयका प्राचार्य शंकर भण्डारीले क्याननले कुनै पनि शुल्क नलिइकन अतिरिक्त क्रियाकलाप खेलकुद, संगित, नृत्यका साथै कक्षा ३ देखि १२ सम्म एनसिसि युके सर्टिफाइड डिजि कम्युटर कोर्स पढाउँदै आएको बताए । उनले कक्षा ११/१२ मा साईबर सेक्युरिटी र जुनियर कक्षाहरुमा कोडिङ र एनिमेशनको पढाई भइरहेको बताए ।

उनले आफूहरु किताबी शिक्षासँगै अतिरिक्त शिक्षालाई अगाडि बढाउँदै लगेकाले अभिभावकहरुबाट सकरात्मक सहयोगको अपेक्षा राखे । यसका साथै कक्षा ३ देखि नै विद्यार्थीहरूले आईटी सम्बन्धित प्रोजेक्ट वर्क गराउने गराउँदै आएको छ । उक्त अवसरमा अभिभावकहरुले विद्यार्थीहरुको चौतर्फी विकास गर्न विद्यालयले थालेको प्रयास सकरात्मक भएको बताए । 

अभिभावक अन्तरक्रियासँगै प्राथमिक तहका विद्यार्थीहरुले नेपालको मौलिक परम्परागत सामाग्री प्रदर्शन गरेको विद्यालयका सहप्राचार्य विष्णु न्यौपानेले बताए । विद्यार्थीहरुले आफ्नो घरमा भएको हसिया, कोदालो, ढाकर, रेडियो, लालटिन, ढ्याब्री बत्ती, झातो जस्ता सामाग्रीहरु प्रदर्शन गरेका थिए । अभिभावकहरुले विद्यार्थीहरुको प्रयासको प्रशंसा गरेका थिए।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update