तिलोत्तमा - पूर्वाञ्चल विश्वविद्यालय सम्बन्धन प्राप्त लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले दोस्रो स्थापना दिवस ‘उच्च शिक्षाको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ।
अन्तरक्रिया कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा.डा.लेखनाथ शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक शर्माले विश्वविद्यालयको शिक्षाले भविष्यमा आवश्यक ज्ञान र सीप प्रदान गर्न सक्ने सम्भावनामा शंका उठिरहेको हुनाले उच्च शिक्षाको अवधारणामा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए ।
सन् २०२३बाट एआईका कारण उच्च शिक्षामा नयाँ प्रकारको चुनौती आइरहेको विश्लेषण गर्दै शर्माले एआईलाई ज्ञानको स्रोतको रुपमा नभई ज्ञान उत्पादनको साधनको रुपमा प्रयोग गर्नुपर्ने बताए ।
पहिले शिक्षा सार्वजनिक विषय र सेवाको क्षेत्र रहेको उल्लेख गर्दै शर्माले अहिले शिक्षा बिक्रीको वस्तु र विश्वविद्यालयहरु कर्पोरेट हाउस जस्तै बनेको हुँदा उच्च शिक्षा सुधार्न राज्यदेखि समाजसम्मको भूमिका रहने उल्लेख गरे ।
कार्यक्रममा कार्यपत्रमाथि शिक्षाविद् प्राध्यापक आनन्दमान शाक्य, सिद्धार्थ इन्टरनेशनल कलेजका रामप्रसाद खरेल, अध्यापक डा. प्रकाश शर्मा, क्यानका प्रिन्सिपल शंकर भण्डारी, लीलाराम माविका प्रअ रुपकुमार रायमाझी, अध्यापक रोम शर्मा, मेघराज शर्मा, माधव पौडेल, अधिवक्ता गोविन्द मरासिनी, तिलोत्तमा नपाका कार्यपालिका सदस्य रवि सेन्चुरी, वन तथा वातावरण विज्ञ दामोदर शर्माले कार्यपत्रमाथि आफ्ना विचार राख्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका क्याम्पस प्रमुखहरु, शिक्षाविद्, प्राध्यापक, लेखक, बुद्धिजीवीको उल्लेखनीय सहभागिता रहेको थियोे ।
कार्यक्रम एकेडेमीका डाइरेक्टर पुरन खड्काको अध्यक्षता, एकेडेमिक कोअर्डिनेटर रामचन्द्र श्रेष्ठको सञ्चालन र सञ्चालक समिति सदस्य सन्दिप कसौधनको स्वागत सहित सम्पन्न भएको थियो ।


